पाणिनी तपोभूमि
प्रकाशित मिति: २३ असार २०८१, आईतवार
अर्घाखाँची जिल्ला पर्छ पाल्पादेखि नजिक छ ।
प्राकृतिक छटा अनि शान्ति यहाँ अधिक छ ।।
रानीघाट, रूरू क्षेत्र, दर्बाशेश्वर गुफा समीप ।
स्वर्गद्वारी, कपिलवस्तु, लुम्बिनीको पनि नजिक ।।
भाषा संस्कृत व्याकरण रचना गर्ने उनै ऋषि ।
पाणिनीले मनोकाङ्क्षा पूरा गरे यहीँ बसी ।।
विश्वकै प्रथम व्याकरण अष्टाध्यायी भनीकन ।
पाणिनीको योगदानप्रति नतमस्तक सबैजन ।।
नेपालका पैदलयात्री भक्त कृष्ण नकर्मीले ।
गाउँशहर खोलाटोला सबैतिर उनी डुले ।।
मेचीदेखि महाकाली सकेर पैदले घुमी ।
कृष्णनन्द परमहंश बनी फर्के यही भूमि ।।
काठमाण्डुमा जन्मेहुर्के बुझे संसार घुमीकन ।
यही भूमि रोजे उनले सर्वोत्तम भनीकन ।।
भागवतको अनुवाद र रचना सयौँ ग्रन्थको ।
रोजेथे यही भूमिलाई आफ्नो जीवन अन्त्यको ।।
रमणीय अनि सुन्दर यो ठाउँमा रमीरमी ।
दक्षिण फर्के देखिन्छ समथर उर्वराभूमि ।।
देखिन्छन् उत्तर दिशा लम्पसार हिमशृंखला ।
देख्न पाइन्छ यहाँबाट प्रकृतिको अनुपम कला ।।
चराचुरुङ्गीको चिरबिर, हरियाली जताततै ।
कल्पना गर्न पुगिन्छ स्वर्ग छ कि यतै कतै ।।
सयौँ थरी सुनाखरी हजारौँ छन् जडिबुटी ।
जानकारी दिऊँ सबलाई तपाइ हामी सबै जुटी ।।
यो पनि मनपर्न सक्छ
- सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
- लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो
- अमर व्यक्तित्व : पण्डितराज नयराज पन्त
बन्धु पोख्रेल