सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न
प्रकाशित मिति: ३० कार्तिक २०८२, शनिबार
काठमाडौं । दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको छ। लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा कात्तिक २७ र २८ गते फेस्ट सम्पन्न भएको हो।
फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी भएका थिए। कार्यक्रममार्फत सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेसलगायतका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका थिए, जसले आइसिटी उद्योग जगतका प्रतिनिधिहरूलाई नेपाली युवा उद्यमशीलताको नवीनतम क्षमता नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ।
फेस्टको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल उपस्थित थिइन्। उनले पछिल्लो समय युवाहरूमा स्टार्टअप र इन्नोभेसनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै, सरकार पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार र कानुनी सुधारमा निरन्तर काम गरिरहेको बताइन्।
यस्तै समापन समारोहमा प्रमुख अतिथिको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत उपस्थित रहेका थिए। उनले युवाहरूको नवीन सोच र आइडियालाई व्यवसायमा रूपान्तरण गर्न मन्त्रालयले स्टार्टअप कर्जा प्रदान गर्ने मात्र नभई उनीहरूलाई इन्क्युबेशन तथा एक्सिलेरेटर कार्यक्रमसँग जोड्ने कार्य गरिरहेको बताए। अब ट्रेडमार्क तथा आईपी दर्ता प्रक्रियालाई समेत अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको जानकारी पनि उनले दिए।
त्यसैगरी शुक्रबार फेस्ट अवलोकन गरेकी उपसभामुख इन्दिरा रानाले कार्यक्रममा सहभागी नवप्रवर्तक युवाहरूका आइडियाले देशमा रहेको ठूलो सम्भावना उजागर गरेको प्रतिक्रिया दिइन्।
आइसिटी विज्ञ मनोहर भट्टराईले फेस्ट जस्ता कार्यक्रमहरूले नेपालमा स्टार्टअप इकोसिस्टमलाई गतिशील बनाउने तथा लगानीकर्ता र नवप्रवर्तकबीच सहकार्य विस्तार गर्न उल्लेखनीय भूमिका खेल्ने बताए।
कार्यक्रमका सह–आयोजक तथा एरोस्पेस र ड्रोन प्रदर्शनी नेतृत्वकर्ता, द स्क्वाड अफ चेन्जमेकरका संस्थापक सुशील देव भट्टराईले यस्ता प्रदर्शनीहरूले बालबालिकामा विज्ञान र गणितजस्ता विषयप्रति रुचि बढाउने बताए।
निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा नवीन प्रविधि र इन्नोभेसन अवलोकन गर्न ठूलो संख्यामा दर्शक आकर्षित भएका थिए। दुई दिनसम्म संचालित फेस्टमा सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, आइसिटी विज्ञ, लगानीकर्ता, कर्पोरेट लिडर, विद्यार्थी, क्यान महासंघ र नास–आईटीका पदाधिकारीलगायत १० हजारभन्दा बढी अवलोकनकर्ता उपस्थित भई फेस्टको प्रत्यक्ष अवलोकन गरेका थिए।
Advertisement
दर्शकहरूले युवाहरूका स्टार्टअप, इन्नोभेसन र प्रोटोटाइपहरू हेर्दै देशमा विकास भइरहेको डिजिटल इकोसिस्टमलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।
फेस्टका संयोजक तथा लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले नेपालमा स्टार्टअप र इन्नोभेसनको इकोसिस्टम विस्तार गर्ने उद्देश्यले पछिल्ला वर्षहरूदेखि स्टार्टअप फेस्ट र आइसिटी अवार्डजस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जानकारी दिए।
स्टार्टअपले ठूलो रोजगारी सिर्जना गर्ने र देशको जीडीपीमा पनि महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले स्टार्टअपका लागि उपलब्ध गराइँदै आएको कर्जा पर्याप्त नरहेको बताए। यसलाई अनुदानमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औल्याए ।
फेस्टमा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोशल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू समेत सहभागी भएका थिए।
Advertisement
अवलोकनकर्ताहरूले ती उत्पादन र इन्नोभेसन प्रत्यक्ष अवलोकन गरी मनपरेका स्टार्टअप तथा आइडियालाई भोट दिएका थिए। उत्कृष्ट ५ छनोट गर्दा जुरीको मार्किङसँगै भोटिङको पनि प्रभावकारी भूमिका रहने आयोजकले जनाएको छ।
स्टार्टअप तथा प्रडक्टमा रुचि राख्ने लगानीकर्ताहरूका लागि विशेष प्रडक्ट डेमो र नेटवर्किङ सेसन समेत राखिएको थियो, जहाँ सातै प्रदेशका स्टार्टअपहरूले आफ्ना आइडिया पिच गरेका थिए ।
फेस्टमा एआई–केन्द्रित शिक्षा प्रदान गर्ने सनवे कलेज, एआई प्रडक्ट टिङटिङ, सस्तोटिकेट्स, इनड्राइभ, नेपालपे क्युआर, एमआईटी कलेज लगायतका संस्थाहरूले पनि स्टल राखेर आफ्ना सेवा र प्रविधि प्रस्तुत गरेका थिए।
दिने फेस्टमा सहभागी एक्जिबिटर तथा आइसिटी अवार्ड २०२५ का सेमिफाइनलिस्टहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
आयोजकहरूका अनुसार फेस्टले नेपालमा विकास हुँदै गरेको स्टार्टअप तथा इन्नोभेसन क्षेत्रको वास्तविक अवस्था बुझ्न, नवप्रवर्तक युवाहरूको सिर्जनशीलता प्रत्यक्ष अवलोकन गर्न र देशभर रहेका उद्यमशील अवसरहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
हाल आइसिटी अवार्ड २०२५ का १५ विधामा छनोट प्रक्रिया जारी रहेको छ, जसका लागि ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएका छन्। अवार्ड विजेता चयनका लागि करिब ६ महिनासम्म चल्ने विस्तृत मूल्यांकन प्रक्रिया हुने गर्दछ। यसका लागि आइसिटी विज्ञहरू सहितको जुरी तथा सल्लाहकार समिति गठन गरिएको आयोजकले जनाएको छ। आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले आगामी पुसमा हुनेछ ।
यो पनि मनपर्न सक्छ
- टिङटिङले सार्वजनिक गर्यो चार एआई प्रडक्ट, ग्राहकको अनुभव बदल्ने अठोट
- जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा
- देश र निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था सम्बन्धमा सार्वजनिक नीति संवाद सम्पन्न
टीओएन
