म नेपाली मान्छे
प्रकाशित मिति: १६ पुष २०८०, सोमबार
म पहाडमा जन्मी–हुर्की मधेशमा बस्ने मान्छे।
ऊ मधेशमा जन्मेर काठमाडौंमा बस्ने मान्छे ।।
जतातता जन्मे पनि जताजता बसे तापनि।
आखिर सबै हाम्रा र हामी सबै नेपाली मान्छे ।।
म हुँ दौरासुरुवाल अनि टोपी लगाउने मान्छे ।
म नेपाली भन्दा गर्वले छाती फुलाउने मान्छे ।।
जापान, जर्मन वा अमेरिका जहाँ बसे तापनि ।
म आफ्नो मुटुमा सँधै नेपाल सजाउने मान्छे ।।
म सगरमाथालाई आफ्नो शिर ठान्ने मान्छे ।
म बुद्धले जन्म लिएको पवित्र देशको मान्छे ।।
सीता, भृकुटी र अरनिकोको इतिहाससहित ।
म राजा जनकले राज गरेको देशको मान्छे ।।
म कहिल्यै उपनिवेश नभएको देशको मान्छे ।
म वीर गोर्खाली भनी गनिएको देशको मान्छे ।।
कसैसँग कहिले नझुक्ने पहिचान बोकेका ।
म अमरसिंह बलभद्रद्वारा रक्षित देशको मान्छे ।।
मलाई भनिनु छैन यो पहाड तिरको मान्छे ।
मलाई जनिनु छैन तराई वा मधेशको मान्छे ।।
न त मलाई बन्नु छ पूर्व अथवा पश्चिमको ।
बिन्ती छ मलाई भनिदेऊ यो नेपाली मान्छे ।।
यो पनि मनपर्न सक्छ
बन्धु पोख्रेल