पञ्चशील समाज
प्रकाशित मिति: २२ असार २०८१, शनिबार
![पञ्चशील समाज](https://i0.wp.com/thetimesofnepal.com/wp-content/uploads/2024/07/balchandra-rana-1-1.jpg?fit=960%2C540&ssl=1)
प्रकृतिले मानिसलाई माया दिएको हुन्छ, जुन मायाले मानिसलाई बाँधेर राख्छ र जीवनको दिशा दिन्छ। यो माया नै मानिसलाई बाँच्न प्रेरित गर्छ तर मानिसलाई आफ्ना आवश्यकताहरूको सीमा तय गर्नसक्ने क्षमता दिएको छैन। मानिस आफ्नो यात्रा र संघर्षमा यस कुराको अन्वेषण गर्छ, तर अन्ततः विलय हुन्छ। कुनै समाजबाट मानिसहरू बाहिरिनु बाध्यात्मक परिस्थिति हो र यसमा विभिन्न तत्वहरूले भूमिका खेल्छन्। आफ्नो भूगोल र समाजलाई दुत्कार्दै सुविधा सम्पन्न ठाउँहरूमा जाने प्रवृत्ति दुर्भाग्यपूर्ण हो। मानिस स्वभाविक रूपमा सामाजिक प्राणी हो र समाजसँग जोडिएको हुन्छ। तर आजको समाजमा सुविधा, धन, मान, बल, विलास र भ्रममा लिप्त मानिसहरूको संख्या धेरै छ।
समाजको वस्तुगत अध्ययन गरी सम्भाव्यताको आधारमा समयानुकूल रूपान्तरण गर्नु आवश्यक छ। यस क्रममा सामाजिक चेतना, सोच, संस्कार र संस्कृतिलाई समृध्दितिर लैजाने सही संस्कारको विकास गर्नु जरुरी छ। मानिस शिक्षाले नभई इच्छाले चलायमान हुन्छ र इच्छालाई सामाजिक वस्तुस्थितिले निर्दिष्ट गर्छ। समाजको चेतना बहिर्मुखी हुँदा समस्याहरू आउँछन्।
हामीलाई हाम्रो जन्मठाउँ र समाजमा समृध्द समाज निर्माण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो मानवीय कर्तव्य हो। जीवनको परम सन्तुष्टि यही कार्यमा मान्नुपर्छ। सुस्वास्थ्य, सन्तुष्टि र विश्वास भएको मानिस संसारको धनी मानिन्छ । समाजले सामाजिक एकताका माध्यमले विभिन्न समस्याहरू हल गर्न सक्छ। समाज मानवीय संवेदनशील समृध्द हुनुपर्छ, जसमा भौतिक विकाससँगै सर्वाङ्गीण पक्षहरू समिटिएका हुन्छन्। प्रकृतिले मानिसलाई एकल पहिचान दिएको छ र समाजलाई पनि। हामी हाम्रो जीवनलाई सार्थक बनाउन आफ्नो जन्मभूमि, गाउँ र समाजलाई समर्पित गर्नुपर्छ। अर्काले बालेको आगो ताप्न जानु नालायकीपन हो।
हाम्रो समाजले असल मानिस बन्न प्रेरित गर्नुपर्छ। समाजमा जन्मेर हुर्केर विलासी जीवन जिउनेहरूको तिरस्कार गर्ने संस्कारको विकास गर्नु पर्छ। समाजमा सबैको ओठमा मुस्कान, हाँसो, खुशी, स्वास्थ्य, सालिनता, सभ्यता र सहयोग भएको देख्न पाइयोस्। हाम्रो आँखामा संसारमा सबैभन्दा ठूलो पसिना र विवेकको महत्त्व छ, जुन प्रकृतिको निःशुल्क उपहार हो। हाम्रो उद्देश्य चन्द्रमा छुने हुनुपर्छ र त्यसको लागि आधार हाम्रो समाज हुन्छ। समाजले फरक मौलिक विशेषता र भौगोलिक अवस्थितिका आधारमा अगाडि बढ्नुपर्छ। अरुको देखासिकी नगरी, आफ्नैपनले अगाडि बढ्नुपर्छ । आफूलाई चिन्न प्रयास गर्नुपर्छ।
हाम्रो समाज पञ्चशीलमा आधारित हुनुपर्छ र त्यस्तो समाज सिर्जना गर्नु नै ठूलो उपलब्धि हुनेछ।
पञ्चशील समाज
१. उत्पादनशील समाज
२. उद्यमशील समाज
३. प्रगतिशील समाज
४. सिर्जनशील समाज
५. कर्मशील समाज
Advertisement
१) उत्पादशील समाज व्यक्ति, परिवार, समाज, गाउँ हुँदै विस्तारित रूपमा संसार बन्ने हुँदा व्यक्ति अत्यन्त महत्वपूर्ण हुन्छ। व्यक्तिको स्वस्थ्य, सन्तुष्टि, खुसी र विश्वासमा उत्पादनले प्रमुख भूमिका खेल्छ। हामीले राष्ट्रिय उत्पादनहरूको कुरा नगरिकन, विशेषगरी सामाजिक उत्पादनको कुरा गरौं। प्रकृतिले हामीलाई यस्तो ठाउँ दिएको छ जहाँ कुनै पनि अन्नका दाना, गेडागुडी माटोमा पर्नासाथ समयमै अंकुराइहाल्छ। थोरै धेरै जमिन र खानेपानीको उपलब्धता भएमा हामी अन्न, गेडागुडी, माछा, मासु, फलफूल, सागपात र हरियो सागसब्जीहरू परिवारलाई पूर्ति गर्न सक्छौं। यसले गर्दा हामीले आवश्यक खाद्यान्न र अन्य वस्तुहरू किन्नु नपर्दा आम्दानी र बचतमा योगदान पुर्याउँछ। खानको लागि बाँच्ने कि बाँच्नको लागि खाने भन्ने प्रश्नमा स्पष्ट हुनु जरुरी छ। पसिना, पैसा र पानीको अधिकतम प्रयोग गर्नुपर्छ। जल, जंगल र जमिनको महत्व बुझ्न सकेमा मात्र उत्पादन गर्न सकिन्छ।
बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई निरुत्साहित र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने वातावरण बनाउन सकियो भने स्वाभाविक रूपले उत्पादनशील समाज बन्न सक्छ। श्रमलाई सम्मान र विलासितालाई घृणा गर्ने मानसिकता विकास गर्न जरुरी छ। सामुहिक प्रयासमा मात्र उत्पादन सफल हुन सक्छ किनकि व्यक्तिगत प्रयत्न पर्याप्त हुँदैन । धैर्यता र निरन्तरता नै सफलताको कुञ्जी हुन्। असफलताबाट बिच्किनु कायरता हो। अपेक्षित प्रतिफल पाएमा उत्पादनले आफैंमा गति लिन्छ। मायाँ, सम्मान र पैसा आर्जन सहज भएमा उत्पादनले स्वतः प्रगति गर्छ।
२) उद्यमशील समाज समाजमा त्यस्ता उद्यम व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ जसले आफ्नो ठाउँ र समाजलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अधिकतम लाभ दिन्छ। उद्यम व्यवसायमा स्थानीय उत्पादनलाई केन्द्र बिन्दुमा राख्नुपर्छ । प्रयोगविहीन र फालिएका प्लास्टिकका टुक्राहरू पनि उचित मूल्यमा प्रशोधन गरि लाभ पाउन सक्ने वातावरण बनाउनुपर्छ। सबै प्रकारका मानवीय आवश्यकताका वस्तुहरूको उत्पादन, खरिद, प्रशोधन र वितरणमा सामुहिक लाभको आधारमा काम गर्नुपर्छ।
हाम्रो समाजमा सामान किन्न हौसिने तर आफ्नो वस्तु बेच्न लाज मान्ने प्रवृत्ति छ, जसलाई परिवर्तन गर्नु आवश्यक छ। आफ्नो उत्पादन बिक्री गर्न पाउँदा गौरवशाली महसुस हुनु पर्दछ। बाहिरी उत्पादनलाई निरुत्साहित र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने भावना उन्मुख उद्यम सञ्चालनमा ल्याउनुपर्छ। उद्यमलाई केवल व्यक्तिकेन्द्रित नभई सामाजिक अधिकतम लाभको आधारमा लिनुपर्छ। यसलाई कर्तव्य र दायित्वको रूपमा लिइ स्वाभिमान र गर्वको रूपमा ग्रहण गर्न सकिन्छ। यसो गर्दा उद्यमीको पलायन रोक्न सकिन्छ र गाउँ, ठाउँ र समाजमै विशिष्टीकरण गर्न सकिन्छ। अनावश्यक र अत्यधिक पैसाको मोहले कर्तव्य र दायित्व बिर्साउने खतरा हुन्छ। त्यसैले आशा र महत्वाकांक्षा जायज र व्यवहारिक हुनु उपयुक्त हुन्छ।
Advertisement
३) प्रगतिशील समाज हाम्रो समाजको उत्पादन, उद्यम, व्यवसाय, भाषा, कला, संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य सबै पक्षहरू समानान्तर गतिशील भइरहेका छन्। समय सापेक्ष मात्रात्मक, गुणात्मक, बहुआयामिक प्रतिस्पर्धात्मक तरिकाबाट क्रमिक गति लिनु सामाजिक विकासको प्रगति मानिन्छ। समाजका सबै पक्षहरू चलायमान हुँदा उपलब्धिहरूलाई मौद्रिकीकरणमा रूपान्तरण गर्दै अधिकतम आय आर्जनलाई सफलताको सूचक मान्ने प्रवृत्तिले समाजमा उत्पादन र उद्यममा अराजकता ल्याएको छ। प्रगति वा सफलताको सूचकको रूपमा मानवीय मूल्य मान्यताको सीमा भित्र रही गरिएको समग्र प्रयास महत्वपूर्ण हुन्छ। सामाजिक सम्बन्ध, पारिवारिक संस्कार, उद्देश्य, लक्ष्य, लगाव, विश्वास, श्रमप्रतिको सोच, अनि अन्तरआत्मालाई समेत समावेश गर्नुपर्छ, नकि मात्र मौद्रिक आम्दानीलाई।
गल्ती हुनु प्रकृति हो, स्वीकार्नु संस्कृति हो र सुधार्नु प्रगति हो। हाम्रो उत्पादन, उद्यम, व्यवसायमा अपुग र कमजोरी स्वाभाविक हो। यसलाई स्वीकार गर्ने संस्कार बनाउनुपर्छ। तब मात्र सुधार र प्रगति सम्भव छ । हाम्रो उत्पादन उद्यम, व्यवसाय नै हाम्रो शिक्षालय हो, जहाँ वस्तुगत यथार्थ अध्ययन र सिर्जनशील दिमागको प्रयोगले विकास र प्रगति सम्भव हुन्छ। प्रत्येक स्वस्थ मानिसमा क्षमता छ भन्ने दृढ विश्वास गर्नुपर्छ। आफूमा आँट, साहस र विश्वास नभए आशा नै हुँदैन। गति लिन सकेन भने प्रगति नै हुन सक्दैन भन्ने चेतना सबैमा आउनुपर्छ। यसले हाम्रो समाज स्वाभाविक रूपमा गतिशील र प्रगतिशील बन्नेछ।
४) सिर्जनशील समाज मानिसहरूको आकर्षण जहिले पनि सिर्जनामा हुन्छ। आकर्षण गर्न सके मात्र केही गर्न सकिन्छ। उत्पादन, उद्यम, व्यवसायमा नवीनता र मौलिकता दिंदा आकर्षण बढ्छ। आफ्नो उत्पादन, उद्यम र व्यवसायमा लगाव र निरन्तर प्रयासले सिर्जनशीलता आउँछ। आफ्नो क्षेत्रको बाहिरको परिस्थितिको वस्तुगत यथार्थ अध्ययन गर्दा नयाँ सिर्जना गर्न सकिन्छ । निरन्तर प्रयास र इच्छाशक्तिले सिर्जना सम्भव हुन्छ। समयानुकूल परिमार्जन गर्दै नयाँ प्रविधिहरू र उत्पादनहरू भित्राउनु स्वाभाविक भए पनि, आफ्ना प्राकृतिक स्रोत र साधनको नयाँ सिर्जनाले मौलिक आकर्षण दिन्छ र दिगो पनि हुन्छ। सिर्जनाको गुदी हाम्रो पसिना र विवेकमै छ भन्ने कुरामा ढुक्क हुनुपर्छ। यसले हाम्रो समाज सिर्जनशील समाज भएर अगाडि बढ्छ।
५) कर्मशील समाज हाम्रो ठाउँ, गाउँ र समाज जन्मथलो मात्र नभई कर्मथलो पनि हो। आफ्नो कर्म थलोमा के लगेर गएका छौं र त्यो कहाँबाट आयो भन्ने कुरा सोच्नुपर्छ। आफ्नो कर्मथलोमा लगेर गएको चीजले जन्मथलोमा पनि ठाउँ पाउन सक्छ। कर्मभूमिले मलाई बनाएको होइन, मैले कर्मभूमिलाई बनाएको हुँ भन्ने चेतना आउनुपर्छ। यसले गर्दा आफ्नो ठाउँ, गाउँ र समाजलाई कर्मभूमि बनाउन सकिन्छ। शिक्षा, स्वास्थ्य, ज्ञान, ध्यान, आय–आर्जनका विभिन्न कारणले अयन्त्र ठाउँहरूमा जानु पर्छ, यस्ता बाध्यतालाई साधनको रूपमा स्वीकार गर्नुपर्छ।
समग्र रूपमा, पञ्चशील समाजको निष्कर्ष यो हो कि एक आदर्श समाजमा यी सबै पाँच गुणहरूको सन्तुलित र समन्वित रूपमा विकास हुनुपर्छ। यस प्रकारको समाज आर्थिक र प्राविधिक दृष्टिले उन्नत मात्र नभर्इ सांस्कृतिक र बौद्धिक दृष्टिले पनि समृद्ध हुनेछ। समाजको उन्नति र प्रगति साध्य बनाउँन सकियो भने हाम्रो समाज एक आदर्श समाज निर्माणका लागि पञ्चशील समाजको निर्माण हुनेछ। जहाँ उत्पादनशीलता, उद्यमशीलता, प्रगतिशीलता, सिर्जनशीलता र कर्मशीलता यस समाजको मौलिक आधारहरू हुनेछ। जसले समृद्धि र समन्वित विकासको मार्ग प्रशस्त गर्दछ। धनीहरू भन्दा गरिबहरूप्रति आकर्षित हुने संस्कार बसाल्न सकियो भने गरिबी अन्त्य हुनेछ । श्रम, मेहनत प्रति सम्मान अनि भोग र विलासिताको उपहास गर्ने संस्कृतिको विकास गरौं। शिष्ट, सुसंस्कृत, सभ्य समाज निर्माण गरौं। पञ्चशील समाजको परिकल्पनालाई साकार पारौं।
यो पनि मनपर्न सक्छ
बालचन्द्र राना