पढ्नैपर्ने केही बालपुस्तकहरु !

प्रकाशित मिति: ११ असार २०८१, मंगलवार

पढ्नैपर्ने केही बालपुस्तकहरु !

हामी साथी साथी रमाइलो पुस्तक ! के–के छन् यसभित्र ? मलाई हेरिहाल्न मन लाग्यो । चित्र पनि कति राम्रो ! यसमा चिनाउन खोजिएका पशुपन्छी त हाम्रो देशका राष्ट्रिय सम्पदा पो रहेछन् । हामी साथी साथी भित्र चौधवटा पाठ रहेछन् । कविता अथवा गीतिलयमा रचिएका यी रचना पढेर कविताको स्वाद अनि पशुपन्छीको परिचय पाइने । त्यसले दिने सूचना त झन् गजबको रहेछ । पुस्तक हेर्दै खुसी लाग्ने ! यो हामी साना बालकलाई रमाइलो गराउँदै हाम्रा राष्ट्रिय पशुपन्छी चिनाउने उद्देश्यले लेखिएको रहेछ । हामी साथी साथी बालसाहित्यमा धेरै रमाइला पुस्तक लेखेर छपाइसकेका स्रष्टा छायादत्त न्यौपानेले लेखेका रहेछन् । यिनको लेखाइ सरल लाग्यो । उनले लेखेका पुस्तक फरक विषय र चित्रमय छन् । भाषा पनि सजिलो छ । मलाई त उनका पुस्तक सबै रमाइला लागे । कथा, कविता, निबन्ध, नाटक, जीवनी सबै विधाका धेरै पुस्तकका लेखक न्यौपाने हामी बालकको मन बुझेर लेख्छन् । त्यसैले उनका सबै जसो किताब मनोरञ्जन दिने खालका छन् । यो पनि त्यस्तै रहेछ । बाँकी किताबमै पढौं ल !

छायादत्त न्यौपानेको खेल्दै पढ्दै, पढ्दै खेल्दै पुस्तक त झन् बेग्लै स्वादको रहेछ । एउटै पुस्तकमा कथा, कविता, संवाद, चिठी, निबन्ध, निमन्त्रणापत्र, बधाई, शुभकामना, के–के हुन् के–के पढ्न पाइने ! पयार्यवाची शब्द कवितामै पढ्न पाइन्छ । यसमा त नमस्ते एघार प्रकारको हुन्छ भनेर देखाइएको छ । यसमा शब्द खेलहरु पनि छन् । व्यक्तिको परिचय दिने तरिका पनि छ । चिठी र निम्तो पत्र बनाउन परे यसले सहयोग गर्छ । यसमा त खानेकुराका नाम, ठाउँका नाम, व्यक्तिको नाम चिन्ने रमाइलो तरिका बताइएको छ । पुस्तकको नामै पढ्दै खेल्दै । पढेको भन्ने नसोची खेलको तरिकाले व्यवहारमा चाहिने धेरै कुरा यसमा पाइन्छन् । हजुरबाआमा र साथी भाइ सबैसित भेट्न र गफिन मिल्ने गरी थरीथरीका सामग्री पिलाइएको छ । ठाउँ–ठाउँमा चित्रहरु पनि छन् । कति मिठो पुवा भनेर रमाइलो तरिकाले पुवाको बयान छ । शब्दकोश कसरी हेर्ने भनेर तरिका छ । म त पुस्तक पल्टाउँदै अचम्म पर्दै । यो पुस्तक राम्ररी पढ्ने हो भने रमाई रमाई लेख्न सिकाउँछ । यसमा रङ्गीन छापेको भए त झन् क्या मजा हुन्थ्यो !

मोटरसाइकलको बिहे ! पुस्तकको नामै अचम्मको ! मान्छेको पो बिहे हुन्छ । मोटरसाइकलको बिहे कसरी हुन्छ होला ? सुन्दै अचम्म लाग्छ । कस्तो अनौठो कुरा ! साँच्चै के रहेछ कुरो ? कसरी हुने रहेछ मोटरसाइलको बिहे ? थाहा पाउन मन लागेकै हो भने पुस्तक सरसरती पल्टाउनुपर्ने भो ! कि कसरी थाहा पाउने होला ? कि त लेखकसँग भेट्नुप¥यो !

छायादत्त न्यौपानेले पुस्तकका नामै नौला नौला छान्दा रहेछन् । उनका पुस्तकको नामहरु नै गजबका । हामी वरिपरिका कुराकानीलाई सजिलो भाषामा रमाइलो गरी चित्रसहित पुस्तक छपाउने न्यौपानेका किताब पनि कति धेरै छन् । कति लेखिरहन भ्याएका ! हेरौँ उनका किताबका नाम कस्ता कस्ता छन् ? हजुरबाको गाउँ, परर ताली, उस्तै उस्तै छेपारोजस्तै यी तीन वटै पुस्तक निबन्धका रे ! यिनमा क्रमशः १४, ३५ र १२ वटा निबन्ध चित्रसहित छन् । यी निबन्ध स्थान, पशुपन्छी, विज्ञानप्रविधि, चिठीपत्रका विषयमा मसिनो जानकारी पाइन्छ ।

यस्तै बाटो बताउने नाति, बालदिवस, डाँफेचरी, साथीभाइको कथा, जस्ता रमाइला कथाका किताबहरु । यी त रङ्गिन चित्र सहितका किताब पनि छन् । यी किताबमा विज्ञान प्रविधि, विद्यालयको वातावरण वन र वन्यजन्तुजस्ता रमाइला विषयका चिनारी दिने उपयोगी लाग्छन् । यी कथा सरल भाषामा बालमन छुने शैलीमा रचिएका छन् ।
न्यौपानेले जीवनी पनि लेखेका छन् । केही असल मानिसहरु ! यसमा दस जना विशिष्ट व्यक्तिहरुले गरेको योगदानको चर्चा छ । प्रेरणादायी कुराहरु सरल सहज तरिकाले प्रस्तुत छन् ।
उनको बाल उपन्यासको नाम आइँपाडीले दुध खायो हो । यसको नाम पनि रमाइलो ! आइँपाडीले दुध खायो ! आइँपाडीले त घाँस खानुपर्ने दुध कसरी खायो ? अचम्म छ हौ अचम्म । यसको गाउँले परिवेश अनौठो लाग्छ । गाउँघर डाँडापाखामा घाँसपात गर्दै गरेका मान्छेहरुको उपस्थिति छ । बालमनोविज्ञानका कुरा भने संस्मरण शैलीमा प्रस्तुत गरिएको छ ।

यो पनि

टीओएन विशेषसाहित्य

प्रिय छोराछोरी !

प्रिय छोराछोरी ! आत्मीय छोरीछोरा !! न्यानो आशीर्वाद/चिरञ्जीवी भए । खै के छ कुन्नि सन्चो/बिसन्चो ? लामो समय बित्यो, भलाकुसारी […]

न्यौपानेको अर्को गजबको किताब छ ‘बाँसै बाँस’ यसमा बाँसको परिचय र उपयोगलाई अनौठो तरिकाले समेटिएको छ । मान्छेले सबभन्दा बढी उपयोग गर्ने गरिरहने बाँसको परिचयसहितका ५७ वटा चित्र छन् । कभर पेज पनि त्यस्तै रमाइलो छ । यसको विशेषता, महत्त्व, प्राप्त हुने भूगोल आदि धेरै सूचनामूलक जानकारी साहित्यिक प्रस्तुतिमा पाइन्छ ।
छायादत्त न्यौपानेका व्याकरण अभ्यासका लागि व्यावहारिक पुस्तकहरु धेरै छन् । यीमध्ये भाषाः सिकाइ सिप र सिर्जना पनि महत्त्वपूर्ण छ । यस्तै निबन्ध, समालोचना तथा सूत्र दृष्टि खल्तीका कुरा चल्तीका सूत्र नामक पुस्तक प्रसिद्ध छन् । यी पुस्तक भाषिक सिप र व्यावहारिक प्रयोग बडो रमाइलो र खेल शैलीका छन् ।
अर्को रमाइलो पुस्तक हो ‘केरै केरा’ । यसमा केराको परिचय कवितामा दिइएको छ । सत्ताइसवटा कविता गुच्छा र चित्रमय प्रस्तुतिले यसलाई रमाइलो बनाएको देखिन्छ । यसमा पनि केराको इतिहास, महत्त्व र उपयोगका कुरा छन् । पुस्तक पढ्दा मजा लाग्छ ।

यस्तै ‘टुर्र टुर्र कराउँछ’ शीर्षकको अर्को किताब छ । यसलाई पनि गीतिलयमा पढ्न सकिन्छ । यसमा मोबाइलको परिचय र उपयोगितालाई रमाइलो ढङ्गको प्रस्तुति छ । मोबाइलका कुराहरु चित्रसहित दिइएकाले बालकका लागि रमाइलो छ । पुस्तक पढ्दा र मोबाइलको काम थाहा पाउँदा मज्जा आउँछ ।
यस्तै यस्तै रमाइला, सूचना दिने खाले धेरै बालपुस्तकका लेखक न्यौपानेले विद्यालय तहका पाठ्यपुस्तक पुस्तकको लेखन÷सम्पादन गरेका छन् । यसै गरी बाल गीत कविताका किताबहरु पनि धेरै लेखेका छन् । उनका केही गीत रेकर्ड पनि भएका छन् । यिनका कथा, कविता, निबन्ध र समालोचनाहरु थरीथरी पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । पुस्तकहरुमा पुतलीको बिहे, गुराँस झुल्दै छ, कति राम्रो क, मुनी पाठी करायो, भ्यागुतको बिहे, म खेल्छु, बाफसँग पानी, प्वाँप्वाँ भ्वाँभ्वाँ, कमिला, टिनीमिनी घुन्न, नेपाल जस्ता थुप्रै पुस्तक छन् । यी पुस्तक पढ्दा देशलाई माया गर्नुपर्ने भावनात्मक सन्देश पाइन्छ । यी पुस्तक वातावरणमैत्री, वन्यजन्तुमैत्री, परिश्रममैत्री, सिर्जनामैत्री, बालमैत्री, अनुशासनमैत्री जस्तै मानवीय भाव पाइन्छ । कविताहरु लोकलयमा लेखिएकाले सरल र सुबोध्य लाग्छन् । गुराँस झुल्दै छ यो त झन् मादलको तालमा दोहोरी गाएर छमछम नाच्न मिल्ने रमाइलो छ । यस्तै हाम्रा कुरा नामको पुस्तक त झन् सबै नेपालीको साझा भावना पोख्ने गजबको पुस्तक हो । न्यौपानेका यी सबै पुस्तक बालक र अभिभावक सबैले पढ्नु राम्रो हुन्छ । न्यौपानेका यी पुस्तक सिर्जनात्मक सिप विकासका लागि ज्यादै महत्त्वपूर्ण छन् भन्ने विश्वास लागेको छ ।

यो पनि मनपर्न सक्छ

ज्ञान प्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*