ऋतुको चर्चा र वसन्त ऋतुको यौनिक सन्दर्भ

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार

ऋतुको चर्चा र वसन्त ऋतुको यौनिक सन्दर्भ

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ प्रकारका भनी विभाजित गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजित गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।

हिन्दू मान्यता अनुसार ऋतुहरू :
हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम
१ वसन्त – चैत्र – वैशाख
२ ग्रिष्म – जेष्ठ- असार
३ वर्षा –   श्रावण- भाद्र
४ शरद – आश्विन – कार्तिक
५ हेमन्त – मङ्सिर – पौष
६ शिशिर -माघ फागुन

तर पश्चिमी मान्यता अनुसार ऋतुहरू
पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु (एक ऋतुमा ३ महिना पर्ने गरी) हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं. ऋतुको नाम अन्य नाम
१ गर्मी (समर)
२ वर्षा (रेनिङ्)
३ शरद (डिउरिङ् )
४ हिउँद (विन्टर)

१. वसन्त ऋतु : शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले वसन्त ऋतु माथि सयौँ कविताहरू लेखेका पाइन्छन् । वसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतिले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना वसन्त ऋतु भित्र पर्दछन् । वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। वसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतुमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछन् । त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।

२. गृष्म ऋतु : जसलाई “गृष्म काल” अथवा “गर्मी ऋतु” “गृष्मर्तु” पनि भनिन्छ। यो ६ ऋतुहरू मध्यको एक ऋतु हो। गृष्म ऋतुको नाम संस्कृत भाषाको (“गृष्म”=गर्मी +”ऋतु”=काल) मिलेर बनेको छ। हिन्दू महिनाहरूको जेष्ठ महिना र असार महिना गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ।

३. वर्षा ऋतु (वर्षा काल) : हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्येको एक ऋतु हो। गृष्मऋतु पछि वर्षा ऋतु आउँछ। वर्षा ऋतुमा प्राय: वर्षा हुने हुनाले यो ऋतुको नाम वर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना वर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा वर्षा ऋतुको प्रवेश हुन्छ ।

४. शरद ऋतु : हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्ये शरदऋतु वसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ति हुने भएकाले यो ऋतुको नाम शरद ऋतु (हिन्दी शब्द “शर्दि”को उदय) भएको हो। हिन्दू महिनाहरूका असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन् ।

५. हेमन्त ऋतु : हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यमा एक ऋतु हो। शरदऋतुको समाप्ति पछि हेमन्तऋतु (हेमन्तर्तु) सुरु हुन्छ । हेमन्तऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात पनि बढी यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्त ऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्तऋतु भित्र पर्दछन् ।

६. शिशिर ऋतु (हिउँद ऋतु) : हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्ये शिशिर पनि एक ऋतु हो। शिशिरऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने, तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ। हेमन्तऋतुको समाप्ति पछि शिशिर ऋतु आरम्भ हुन्छ। हिन्दू महिना अनुसारका माघ र फागुन २ वटा महिना शिशिर ऋतुमा पर्दछन् ।

 

वसन्त ऋतु र यस ऋतुसँग जोडिएका शास्त्रीय यौनिक प्रसङ्ग

कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो।

यसबेला प्रकृतिले काँचुली फेर्छ भन्दा फरक नपर्ला। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। हिउँ पग्लन थाल्छ। अनि यस्तो दृश्य कसलाई पो मन पर्दैन र ? भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन नपरोस् !

आध्यात्मिक भाषामा भन्नुपर्दा वसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रुपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ।

प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणका बारेमा भाव व्यक्त गर्नका लागि यो ऋतु अनुकूल मानिन्थ्यो। राजमहल र राजकीय देखरेखमा नगरहरूमा रमाइलो गरिन्थ्यो। आफ्नो प्रेमभाव सम्बन्धित व्यक्तिसामु व्यक्त गरेर उत्सव मनाइन्थ्यो।

कामदेवको सन्दर्भ

त्योबेला वसन्त ऋतुलाई स्वागत गर्न माघ महिनाका पूरै पाँच दिन एउटा ठूलो उत्सव नै मनाइने गरिन्थ्यो। यस उत्सवमा विष्णु र कामदेवको पूजा हुन्थ्यो। पुराणहररू तथा अनेक काव्यग्रन्थहरुमा अलग–अलग तरिकाले यसको चित्रण मिल्छ। कामदेवको उत्सव मनाउँदा बीचमा कामदेवको मन्दिर हुन्थ्यो। स्त्रीपुरूषहरु जम्मा भएर फूलहरू छानेर हार बनाउँथे। एक–अर्कामाथि अबीर, कुमकुम लगाउँथे र नृत्य सङ्गीत आदिको आयोजन गर्थे। पछि पनि मानिसहरू मन्दिर गएर कामदेवको पूजा गर्ने गर्थे। हिजोआज वसन्तोत्सवको रूप बदलियो र होलीका रूपमा मनाइन्छ।

एक दिन पाण्डु माद्रीको साथमा वनमा एउटा तलाउको तटमा घुमिरहेका थिए। वातावरण अत्यन्तै मनमोहक थियो। शीतल वायुले दुवैको मन शान्त गरिरहेको थियो। तब अचानक वायुको झोँकाले माद्रीको वस्त्र उडायो। माद्रीलाई यस अवस्थामा देखेर पाण्डुको मन चञ्चल बन्यो। दुवैले श्रापको परिणामलाई भुले र मैथुनमा संलग्न भए। श्रापका कारण तत्काल पाण्डुको मृत्यु भयो।

यो पनि

 

सरस्वती र श्रीकृष्ण

वसन्त ऋतुसँगै जोड्न सकिने अर्को एउटा पौराणिक कथा पनि छ। सृष्टिको सुरुवातको कुरा हो। भगवान् विष्णुको आज्ञा पाएर ब्रह्माले जीवहरू, खासगरी मनुष्य योनिको रचना गरे। यति रचना गर्दा पनि उनी आफ्नो रचनादेखि सन्तुष्ट थिएनन्। आफ्नो रचनामा कुनै कमी भएजस्तो उनलाई लाग्थ्यो। हुन पनि त्यसबेला चारैतिर मौन व्याप्त थियो। कुनै आवाज थिएन।

यस्तो अवस्थामा विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छर्किए। जलकण पर्ने बित्तिकै पृथ्वीमा कम्पन हुन थाल्यो। वृक्षहरूको बीचबाट एउटा अद्भूत प्राकट्य भयो। यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो, जसको एउटा हातमा वीणा तथा अर्को हात वरमुद्रामा थियो। अन्य दुई हातमा पुस्तक र माला थिए। ब्रह्माले देवीसँग वीणा बजाउन अनुरोध गरे। देवीले वीणाको मधुर नाद सुरु गर्ने बित्तिकै संसारका सबै जीवजन्तुलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्नाले सरसराहट हुन थाल्यो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने।

पछि तिनै सरस्वतीले जब श्रीकृष्णलाई देखिन्, उनको रूपमा मोहित भइन् र पतिका रूपमा पाउने इच्छा गर्न थालिन्। श्रीकृष्णले यो कुरा थाहा पाए र आफू राधाप्रति समर्पित भएको बताए। सरस्वतीलाई प्रसन्न गर्नका लागि उनले वरदान दिए – “प्रत्येक विद्याको इच्छा राख्ने व्यक्तिले माघको शुक्ल पञ्चमीमा तिम्रो पूजा गर्नेछ।” यसै दिनदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ ।

शबरीको भक्ति

रामायणमा उल्लेखित एउटा घटनाअनुसार श्रीरामले वसन्त ऋतुकै पहिलो दिन शबरीलाई भेटेका थिए। कथाअनुसार रावणद्वारा सीता हरण भइसकेपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढे। उनी विभिन्न स्थानमा गए, तीमध्ये दण्डकारण्य पनि थियो। त्यहीँ शबरी नाम गरेकी महिला बस्थिन्। राम उनको कुटीमा पुगे। शबरीले रामलाई देखेपछि प्रेमवश आफ्नो होसहवास गुमाइन् र मीठा बयर आफूले चाख्दै रामलाई खुवाउन थालिन्। प्रेमले भरिएको यस घटनालाई रामकथाको गायन गर्ने सबैले आ–आफ्ना ढङ्गले प्रस्तुत गरेका छन्। दण्डकारण्यको त्यो क्षेत्र हाल भारतको मध्य प्रदेशमा फैलिएको वन भएको मानिन्छ। त्यहीँ शबरीको आश्रम थियो।

राग, रङ र उत्सव मनाउनका लागि यो ऋतु सर्वश्रेष्ठ मानिएको छ। होली पर्व वसन्त ऋतुमा मनाइन्छ। कालिका पुराणमा वसन्तको व्यक्तिकरण गर्दै यसलाई अति आकर्षक, सन्तुलित शरीर भएको, अनेक फूलहरुले सजिएको, मात्तिएको हात्तीजस्तो चाल भएको आदि गुणहरूले भरपुर भनेर बताइएको छ।

वसन्त ऋतु र भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस

वसन्त ऋतु सुरू भएलगत्तै पाश्चात्य सभ्यताबाट भित्रिएको ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस पर्छ। वसन्त ऋतुको आगमन र प्रेम दिवस आफैँमा अत्यन्त सान्दर्भिक छन्।

यो पनि मनपर्न सक्छ

राजनप्रसाद पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*