किन कमजोर बन्दैछन् नेपालीका हाड ?
प्रकाशित मिति: २४ आश्विन २०८१, बिहीबार

काठमाडौँ : “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?”
पाकापुरानाहरुबाट यस्तै यस्तै सुन्न पाइन्छ अहिले । उहाँहरु उहिले र अहिलेको खानपान, रहनसहन, उठबस, कामविशेष तथा बानी व्यहोराको तुलना गर्ने गर्नुहुन्छ । उहाँहरुका भोगाइमा अहिलेको पुस्ताको शारीरिक तन्दुरुस्ती पहिलेजस्तो छैन । ‘टेबल वर्क’ धेरै छ तर शारीरिक अभ्यास न्यून । हिँडाइ त झन् छँदैछैन, एक किलोमिटरलाई पनि गाडी चढ्छन् । त्यसैले यो पुस्ताको स्वास्थ्य पनि बलियो छैन ।
घाँसका भारीसित लड्दा होस् या रुखबाट भूइँमा खस्दा समेत हातखुट्टा नभाँचिने अनुभव उहाँहरु सुनाउनुहुन्छ । घाँस दाउरा र लेकबेँसी धेरै हुने र हिँड्ने बाटो पनि खेतबारीका कान्लाबाट उक्लिने र ओर्लिने खालको हुने । त्यसैले शारीरिक अभ्यास प्रशस्तमात्रामा पुग्ने उहाँहरुको अनुभव छ । अनि खानपानका अनुभव पनि निकै रोचक । एउटा लैनौ भैँसीको घिउ र दूध एक्लैले खाने रे । त्यसकारण हड्डी बलियो बन्ने र सानातिना चोटले केही असर नगर्ने उहाँहरुको अनुभव छ ।
नेपालका हाडजोर्नीसम्बन्धी विशेषज्ञ चिकित्सक कैलाश भण्डारी पाकापुस्ताका यी अनुभवप्रति सहमत हुनुहुन्छ । के नेपालीका हाड पाकापुस्ताहरुका यस्तै अनुभवजस्तै कमजोर हुँदै गएका हुन् ? डा भण्डारी केही हदसम्म कारण यिनै हुन् भन्नुहुन्छ । अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका छन्, एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । ‘हिस्ट्र टेकिङ’ गर्दा उहाँहरु सामान्य रुपमा लडेको मात्र बताउनुहुन्छ तर हड्डीमा क्षति धेरै पुगेको हुन्छ ।
हड्डीको यसप्रकारको रुग्णतामा डा भण्डारीले दिने कारण पनि उस्तै छ, खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास । उहाँ भन्नुहुन्छ “खानपान त उही हो, धेरैको जङ्कफुड (बजारमा पाइने तयारी खाना) नै हुन्छ र शारीरिक अभ्यास छैन । खाना बनाउन, शारीरिक अभ्यास गर्न या हिँड्नै पनि मानिस चाहँदैन, सौखिन बन्दै गएको छ । उसको ‘टेबल वर्क’ बढी छ अनि शारीरिक सक्रियता कम । तर उही खानेकुरामा पनि पहिले र अहिले पाउने प्रोटिन या अन्य खनिजहरुको प्रचुरता फरक पर्दै गएको छ ।
Advertisement
शुद्धतामा ह्रास आइरहेको छ ।”उही खानेकुरामा पनि पहिले र अहिले पाइने प्रोटिनको शुद्धतामा किन फरक ? यसको कारण विषादिको प्रयोग, माटोमा प्रयोग गरिने आधुनिक अर्थात् रासायनिक मलको प्रयोग हो । यसले खानामा पाइने प्रोटिनको शुद्धतामा फरक पर्दै गएको उहाँको तर्क छ । त्यसैगरी ‘आउटडोर एक्टिभिटीज’ कम हुँदै जाँदा आवश्यक शारीरिक अभ्यास नपाएर तथा हड्डी खुम्चिएर रहने या जाम हुने अवस्था समेत देखिएको डा भण्डारीको भनाई छ ।
अहिलेका बालबालिकालाई घरमै होस् या विद्यालयमा खेल्ने खेलमैदानको उपलब्धता नै नभएको उहाँको भनाई छ । “हेर्नुहोस् न बालबालिकालाई खेल्न न विद्यालयमा खेल मैदान छन् र नत घरमै । विद्यालय पनि प्रायः बाटोका नजिक या सँघुरा जमिनमा बनेका छन् जहाँ खेल्नका लागि जमिन नै छैन । घरको त झन् कुरै भएन, चार आना भएपछि घर बनाउने घडेरी पुगिहाल्यो, केटाकेटीलाई खेल्ने मैदानका बारेका कसले सोचिदिने ? यसरी शहरका बालबालिका साँघुरोमै खुम्चिएर बस्नुपर्दा तिनका हाडले शारीरिक तन्दुरुस्ती बन्न पाएका छैनन्”, डा भण्डारीको भनाइ छ ।
उहाँका अनुसार अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यकपर्ने भिटामिन ‘डी’ को उपलब्धताको कमी र सूर्यको किरणको पहुँचबाट टाढा रहेको मानिसको दैनिकी पनि हाड कमजोर बन्दै जानाका अरु केही कारण हुन् । हाम्रो शरीरमा भिटामिन डीको मात्रा विश्वस्वास्थ्य सङ्गठनले तोेकेको मात्राभन्दा कम रहेको उहाँ बताउनुहुन्छ ।
जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा भण्डारी विशेषगरी अहिलेको बालिबालिकाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “बालबालिकाको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ । उनीहरुका हातखुट्टा त खुर्सानीको बोटजस्तै बन्दै गएका छन्, अलिकति बल गर्यो कि पिटिक्क भाँचिने । कारण त तिनै हुन् खानपान र आहारविहार । कारण धेरै होलान् दिनप्रतिदिन कमजोर बन्दै गएको देख्छु उनीहरुको हड्डी ।”
उहाँको अनुभवमा अहिलेको पुस्ता एक तला पनि भ¥याङ चढ्न अल्छी मान्छ, लिफ्ट छ भने त्यसैबाट जान्छ । अरु पनि यस्तै हो कि पसिना निकालेर काम गर्न चाहँदैन । बजारको खानाको उपभोगमा बृद्धि, रक्सी तथा अन्य मादक पदार्थहरुको सेवनले पनि हाडको क्षयीकरणमा योगदान थप्दै गएको देखिएको छ भने विस्तारै न्युट्रेसनमा भएको कमीले हाडको कमजोरीलाई थप बलियो बनाउँदै लगेको छ । शरीरमा लाग्ने चोटपटक र त्यसको समयमै उपचारको कमी, बाथरोगलगायत विभिन्न रोग तथा जेनेटिक त यो समस्याका रैथाने कारण छँदैछन् ।
Advertisement
यो पनि मनपर्न सक्छ
- सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सुमना श्रेष्ठ
- महिनावारी विभेद अन्त्यका भएनन् प्रयास
रासस