कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन : नेता डा कोइराला
प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित ‘संविधान संशोधन: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उहाँले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई ठूला दल कांग्रेस र एमाले बीच सहकार्य भएकाले सोअनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ्ने धारणा राख्नुभयो ।
डा कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत्, नागरिक समाजलगायत सबैले खबरदारी गरिरहनुपर्नेमा समेत जोड दिनुभयो । “देशमा रहेका समस्या समाधान, राजनीतिक स्थायित्व र नागरिक निराशा चिर्न तथा संविधान संशोधन गरी देशमा स्थिरता ल्याउने भन्दै दुई ठूला दल एकठाउँमा आएका छौँ । यस अवस्थामा धेरै अपेक्षा र आशङ्का छन् । कतिपयले ठूला शक्ति मिलेकाले निरंकुशतातिर उन्मुख होलान् कि भनी शङ्का गरिरहेका छन् । त्यसले यो सरकारलाई असफल हुने छुट छैन”, उहाँले भन्नुभयो,“निरंकुश हुने सवालमा तपाईंहामी सबैले आआफ्नो ठाउँबाट खबरदारी गरिरहनुपर्छ । यसमा नेपाल प्रेस युनियनलगायत प्रेससँग सम्बन्धित संस्थाको भूमिका थप महत्वपूर्ण छ ।”
त्यसैगरी उहाँले १० वर्षमा संविधानमा पुनरावलोकन गर्ने कुरा संविधानमै उल्लेख भएकाले पनि दुई दलले यसलाई निष्कर्षमा पु¥याउनुपर्ने उहाँको भनाइ थियो । संविधान संशोधनका विषयमा बहस चलाउनु सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै नेता डा कोइरालाले यस विषयमा सबै तहमा छलफल चलाउन आवश्यक रहेको धारणा राख्नुभयो । “के-केमा संविधान संशोधन गर्ने भन्ने निश्चित गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले राजनीतिक अस्थिरता हुने गरेको छ । त्यसैले समावेशी प्रतिनिधित्वसमेत सुनिश्चित, राजनीतिक स्थिरता र नागरिकमा आशा जागृत हुने गरी संविधान संशोधन हुनुपर्छ”, नेता डा कोइरालाले भन्नुभयो । संसद्मा रहेका सबै राजनीतिक दलले बृहत् समझादारी गरेर संविधान संशोधन गरिनुपर्ने उहाँको विचार छ ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दुई ठूला दल मिल्दा संविधान संशोधनलगायत महत्वपूर्ण काम गरेर देखाउनुपर्ने र सरकारले गलत काम गर्नसक्ने तर्फ बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि असल राजनीतिक संस्कार पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरे पनि विभिन्न कानुनमा भएका प्रतिबन्धात्मक व्यवस्थाले कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । संविधानमा मात्र नभई सत्तामा बस्नेको मानसिकता र प्रवृत्तिमा पनि संशोधन हुनुपर्ने उहाँको भनाइ थियो ।
युनियनका सल्लाहकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक क्षेत्रबाट निर्वाचन प्रणाली, न्यायिक क्षेत्रबाट न्याय परिषद् र संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संशोधनको माग भइरहेकाले प्रेस जगतले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सञ्चार एवं सूचनाको हकका व्यवस्था सबल हुने गरी संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
युनियनका पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले संविधान संशोधनको बहसलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
युनियनका अध्यक्ष शिव लम्सालले संविधानमा प्रेससम्बन्धी व्यवस्था संशोधनका लागि युनियनले बहस सुरू गरेको जानकारी दिनुहुँदै यसलाई जिल्ला जिल्लामा लगिने बताउनुभयो । क्रियाशील पत्रकारलाई पत्रकार महासङ्घको सदस्यताबाट वञ्चित गर्न खोजिएको प्रपञ्च युनियनको आन्दोलनले अन्त्य गरेको भन्नुहुँदै उहाँले शाखा र प्रदेशले नियमसम्मत सिफारिस गरेका सबैले सदस्यता पाउनुपर्नेमा युनियन प्रष्ट रहेको सुनाउनुभयो । साउन अन्तिम वा भदौको पहिलो साता पत्रकार महासङ्घको निर्वाचन गर्ने गरी सहमतिको प्रयास भइरहेको अध्यक्ष लम्सालले बताउनुभयो ।
कार्यक्रममा युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेललगायतले संविधान संशोधन गर्दा प्रेस स्वतन्त्रतासम्बन्धी सबल व्यवस्थाका लागि युनियनले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
त्यसअवसरमा नेता डा कोइरालाले नारी मासिक पत्रिकाकी सम्पादक इशा अधिकारीलाई खादा ओढाएर नेपाल प्रेस युनियनमा प्रवेश गराउनुभएको थियो ।
यो पनि मनपर्न सक्छ
रासस