द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१
प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार
महाभारत एउटा पूर्ण र परिष्कृत पौराणिक महाकाव्य हो जसलाई अठ्ठाइँसौँ व्यास श्रीकृष्ण द्वैपायनले पाँचौ वेदको रुपमा विश्वलाई सुम्पिएका थिए ।
त्योबेलासम्म सायद लिपिमा कुनै ग्रन्थ तयार गर्नेभन्दा कण्ठस्थ गरेर एकअर्कालाई सुनाउने परम्परा थियो र त्यसैगरी पुस्तौँपुस्तालाई जानकारी गराइन्थ्यो तर व्यासलाई लाग्यो होला, यो कृति पछिसम्म पनि रहोस् । उनले लिपिका लागि लेखेर संग्रह गर्नका लागि भगवान गणेशको सहयोग मागे । अझ भनिन्छ, गणेश तयार त भए तर खोचे थापे —मेरो लेखाइको वेग रोकिनु हुँदैन, यदि मेरो रफ्तारमा भनिएन भने म अलप भएर जानेछु । अनि वेदव्यासले पनि भनेछन्—हजुरले जेजे लेख्नुहुन्छ, तिनको अर्थ पनि सम्झनु पर्छ र लेख्नुपर्छ । गणेशले माने अनि व्यासल बेलामौकामा यस्तो रहस्यमय कुरा भन्थे कि गणेशलाई त्यो सम्झन समय लाग्थ्यो र त्यही बेलामा व्यासले अरु कविताहरुको सृजना गर्न थाल्थे । त्यसरी महाभारतको रचना भएको हो भनेर महाभारतले नै हामीलाई जानकारी दिएको हो ।
हाम्रालागि पौराणिक इतिहासको जानकारी दिने श्रुतिस्मृति तथा पुराण गौरवका विषयहरु हुन् । पूर्वीय वाङ्मयमा संस्कृतको जुन महत्व छ, त्यसको कारण वेदसहितका पुराणहरुका कारणले हो ।
यहाँ यसपटक महाभारतको पनि प्रमुख पात्रा द्रौपदीको बारेमा चर्चा गरिन्छ जसका कारणले महाभारतको कथाले उत्कर्षमा पु¥याउँछ । एउटी रहस्यमय पात्र तर मुख्य पात्र ।
द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी । पाँच नाथ अर्थात् पञ्च पाण्डव—युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव । बडो नाटकीय तरिकाले पाँचजना कौरबसँग विवाह भएको देखिन्छ । कौरब किन भनेको भने वास्तवमा धृतराष्ट्र र पाण्डुका छोराहरुलाई विभाजन गर्नका लागि धृतराष्ट्र महाराजका छोराहरुलाई कुरुका सन्तान अथवा कौरव भनिएको र पाण्डुका सन्तान पाँचओटा छोराहरुलाई पाण्डव भनिएको हो । द्रुपद महाराजले आचार्य द्रोणसँग बदला वा प्रतिशोध लिनका लागि यज्ञ गरे । त्यही यज्ञबाट किशोर एकजना र किशोरी एकजना उत्पन्न भएको बताइन्छ महाभारतमा । हो तिनै किशोरीलाई नै नामाकरण गरिँदा कृष्णा भनियो जो याज्ञसेनी हुन् अर्थात् यज्ञको झर्झराउँदो ज्वालाबाट फुत्त निस्किइन् ।
अर्को किशोरसँगै । अर्थात् जुम्ल्याहा सन्तान । जसको नामाकरण धृष्टद्युम्न भनेर गरियो । तिनै धृष्टद्युम्न नै महारभारतको युद्धमा पाण्डवतर्फका सेनापति थिए । बहिनीको पक्षमा लड्न गएका तर भित्रीरुपमा आचार्य द्रोणको निधनका कारक बन्नका लागि जन्मिएका । यसको पनि कारण थियो किनभने दु्रुपद जब महाराज भए,उनका साथी द्रोणले केही अपेक्षासहित भेट्न जाँदा अपमान गरेका थिए । वास्तवमा गाई चाहन्थे द्रोण अनि साथी द्रुपदले आधा राज्य दिने वाचा गरेका थिए गुरुकुलमा बस्दा । लाग्यो द्रोणलाई मिल्ने साथी राजा भएको छ, छोरो अश्वत्थामा पनि जन्मिएको छ कृपीको गर्भबाट । केही त देलान् बस्न , खान र पढाउनका लागि । भित्रचाहिँ राज्यको केही भागको समेत लालसा थियो क्या रे । तर द्रुपदले अपमान गर्दै एउटा ब्राह्मणको मगन्ते गुरु मेरो कसरी साथी हुनसक्छ भन्दै लाञ्छना लगाए । त्यहीँबाट सुरु भयो प्रतिशोध । पछि उनै द्राृेणाचार्यले कुरुकुलमा गरुकुल चलाए । पढाए । धृष्टद्युम्नलाई पनि पढाए, शिखण्डीलाई पनि पढाए कौरब र पाण्डवसँगै । सूतपुत्र कर्णलाई भने वास्ता नगरेको पाइन्छ द्रोणले पनि भीष्म पितामह अर्थात् ज्येष्ठ कुरा देवव्रतले पनि । कर्णमा एउटा विद्रोह भित्रभित्रै दन्केको थियो, धृष्टद्युम्नमा प्रतिशोध जमेको थियो, कृष्णासँग पाँचजनाकी पत्नी हुनुपरेकोमा क्षुब्धता बढेको थियो, दुर्योधनमा काकाका छोराहरुले राज्य गर्ने हुन् कि भन्ने कारणले जसरी हुन्छ उनीहरुलाई वैधानिकरुपमा राज्य वञ्चित गर्ने क्षूद्रता बढेको थियो, शकुनिमा आफ्नी सखल्ल बहिनी गान्धारीलाई जन्मान्ध धृतराष्ट्रको जिम्मा लगाएकोमा पूरा कौरब वंशसँगै बदला लिने भित्री इच्छा थियो । शिखण्डी उभयलिङ्गी अर्थात् क्लीव राजकुमार थिए या राजकुमारी थिइन् ।
अघिल्लो जुनीमा अम्बाको रुपमा उनले पाएको हन्डर अर्कै छ जसका कारणले शिखण्डी भएर दु्रपद महाराजका सन्तानका रुपमा जन्म लिएको देखिन्छ । छोरी भएर जन्मे पनि छोराजस्तै व्यवहार गरियो र विवाहसमेत भएको थियो । पछि उनको लिङ्ग परिवर्तन भयो र पुरुषको रुपमा गणना गरियो । ती पनि महाभारतमा महारथीका रुपमा लड्न आएका थिए बहिनीका पक्षमा । तर उनको लक्ष्य भनेको देवव्रत अर्थात् ज्येष्ठ कुरा भीष्म पितामहको हत्या गरेर अघिल्लो जुनीको दुःखको बदला लिनु थियो । सबैको कोही न कोहीसँग केही न केही कुरामा प्रतिशोध लिनै पर्ने देखिन्छ महाभारतको सम्पूर्ण अध्ययन गर्दा ।
द्रौपदीलाई धृष्टद्युम्नकी बहिनी नै भनौँ अब , किनभने को पहिले जन्मियो भन्दा पनि महाभारतमा धृष्टद्युम्नलाई पुरुष क्षमताको तर्फबाट नेतृत्व गर्ने बनाइयो भने कृष्णालाई प्रकृतिका तर्फबाट महाभारतको कारण बनाइयो । हो तिनै कृष्णालाई भनियो द्रौपदी , पाञ्चाली, यज्ञसेनी या याज्ञसेनी । कृष्णा उनको नाम एकप्रकारले न्वारनकै भन्नुप¥यो । महाराज द्रुपदकी छोरी भएकीले उनलाई द्रौपदी भनियो । पाञ्चाल राज्यकी राजकुमारी भएकीले पाञ्चाली भनियो र यज्ञबाट उत्पन्न भएकीले याज्ञसेनी भनियो । पाँचओटा ब्राह्मण कुमारहरुसँग उनको विवाह भयो जो वास्तवमा पाण्डुकुमार थिए तर थिए ब्राह्मणको भेषमा । वार्णव्रतबाट सुरुङ्को बाटोबाट भागेपछि पाण्डवको भेष राजकुमारबाट ब्राह्मण कुमार भएको थियो ।
त्यही भेषमा नै द्रुपद महाराजको घोषणाबमोजिमको शर्त पूरा गरेर द्रौपदीलाई स्वयंवरका लागि योग्य भएका थिए । शर्त थियो युद्ध कौशल वा वाणको कौशल । तल पानीमा हेरेर फनफन घुमिरहेको चक्रमा रहेको माछाको आँखामा निशाना लगाउनु जो थियो । अङ्गदेशका मानार्थ राजा कर्णले त त्यो शर्तबमोजिमको कौशल पूरा गरेका थिए तर सूतपुत्र भनेर द्रौपदीले स्वयंवरमा समेत बस्न अस्वीकार गरिन् । पालो आयो ब्राह्मण कुमारको जो वास्तवमा अर्जुन थिए । उनले कौशल पूरा गरेर अरुले गर्न नसकेको काम फत्ते गरेर द्रौपदीका हकदार भए । दिउँसभर माग्दा जेजे पाइन्छ कुमारहरुले बसेको डेरामा लैजाने र राजमाता कुन्तीको आदेशबमोजिम बाँडेर लिन्थे । यहाँ पनि राजकुमारीलाई अर्जुनले युद्ध कौशलद्वारा जिते पनि घरमा लिएर गएपछि आमालाई चकित पार्नका लागि आफूले ल्याएको चिज हेर्न अनुरोध गरे । माता कुन्तीले पाँचजना बाँडेर लिनू भनेपछि त्यहाँ असमन्जस्य बढ्यो । कुन्तीको मुखबाट कुरो बाहिर आयो, बाँडेर लिने कुरा भयो तर कसरी त ? एउटी राजकुमारीलाई पाँचजना कुमारहरुले कसरी बाँड्ने त ? समस्या आयो । बल्ल श्रीकृष्ण र व्यासले अघिल्लो जुनीमा नै तय भएको पाँच पतिको भाग्य अहिले पूरा भएकोले यसमा कुनै अप्ठेरो नहुने बताए पछि कुरो मिल्यो र पाँचजनासँगै बेग्लाबेग्लै पाणिग्रहण सम्पन्न भएको थियो । त्यसैले पाण्डवजस्ता महारथीहरुकी रानीले चीरहरण जस्तो बेलामा मौन बस्दा भनियो —पाँच नाथकी अनाथिनी ।
युधिष्ठिर धर्मराजका अंश, भीम महाबली वायुका अंश अर्जुन स्वर्गका राजा इन्द्रका अंश थिए जो कुन्तीका गर्भबाट जन्मिए । अनि माद्रीको गर्भबाट जन्मिनेमा परे नकुल र सहदेव जो जुम्ल्याहा पनि हुन् र उनीहरु जुम्ल्याहा देवता अश्विनी कुमारका सन्तान हुन् । तर त्यो बेलाको उत्तर वैदिक समयमा कुल निर्माण र निरन्तरताका लागि पतिको आदेशमा पत्नीले नियोग गरेर बच्चा जन्माउने चलन थियो । जस्तो कि मरिसकेका विचित्रवीर्यका नामबाट व्यासमार्फत् अम्विकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासीमार्फत् विदुर जन्मिएका थिए । ती तिनैजना कुमारहरुको पिताको नाम विचित्रवीर्य नै थियो । यसरी नियोगको अर्को चरणमा पाण्डुकी पत्नीहरु कुन्ती र माद्रीबाट छोराहरु जन्माइए पाण्डुको आदेशमा । त्यसैले ती सबै सन्तान पाण्डुकै मानिए र पाण्डव भनिए । क्रमशः
यो पनि मनपर्न सक्छ
हरिविनोद अधिकारी