सहकारीपीडितकाे करीब पौने चार अर्ब बचत फिर्ता
प्रकाशित मिति: २२ असार २०८२, आईतवार
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गरेको जनाएकोछ ।
सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको रु ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० बचत हिनामिना, अपचलन र दुरुपयोग भएको भनी दिएको उजुरी अनुसार, अब रु ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ बचत फिर्ता गर्न बाँकी छ ।
सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी लिँदै आएको समितिले हालसम्म समस्याग्रस्त घोषणा गरेका २३ वटा सहकारी मध्य तीनवटा सहकारीको रकम फिर्ता र हिसाब गरिरहेको छ ।
समितिले गत कात्तिकदेखि यही असार १५ गतेसम्म सङ्कलित रु २९ करोड ८२ लाख आठ हजार १२८ रकम ५६ हजार १०६ जना बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ । भने यसरी सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विसं २०७४ पुसमा स्थापना भई २०७५ असार १८ गतेदेखि क्रियाशील समितिले सङ्घीय सरकार मातहतका समस्याग्रस्त सहकारीमा नागरिकले बचत गरेको रकम फिर्ता गर्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्दै आएको छ ।
यो पनि मनपर्न सक्छ
- समाजमा नेतृत्व: उमेर, दृष्टिकोण र सामाजिक क्रान्तिको प्रश्न
- तीन ऐन संशोधन र एउटा खारेज गरी ल्याइएको सहकारीसम्बन्धी अध्यादेशमा के छ ?
टीओएन संवाददाता