जे छ त्यहीमा रमाउन सकिएन भने नत सरकारी जागिरको कमाइले पुग्छ नत विदेश
प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार
ब्याचलर सकेपछि मैले गाउँमै बसेर केही गर्ने उद्देश्यले मौरी पालन र फूल खेती थालेँ। मौरी पालन र फूल खेती थालेको एक महिना नबित्दै गाउँका मानिसहरूले आलोचना गर्न थाले— ‘ब्याचलर सकेर पनि गाउँमै बसेर खेतीतिर लागेको! हेर त, बुद्धि त भएकै रहेछ!’
जसरी जुनसुकै पेसामा लागे पनि मानिसलाई बचाउने भनेको कृषक र कृषि पेसाले नै हो। तर हाम्रो समाजको सोच कस्तो छ भने, पढेलेखेका मानिसहरू खेतीमा लागे भने आलोचना गरिन्छ र हतोत्साहित गरिन्छ।
धेरै आलोचना आए पनि म आफ्नो उद्देश्यमा शान्त भएर लागिपरेको थिएँ। घरमा छिमेकीहरू पनि आइरहन्थे। उनीहरू भन्थे, ‘यति पढेलेखेको छोरीले गाउँमा खेतीमा लागेर हुँदैन। बरु सरकारी जागिरको लागि प्रयास गर्न पठाउनुहोस्।’
सायद सबैको कुरा सुनेर होला एक दिन बुबाले भन्नुभयो, ‘छोरी, तिमी यताका कामहरू छोडिदेऊ, हामी सम्हाल्छौँ। बरु तिमी काठमाडौँ जाऊ र सरकारी जागिरको लागि तयारी गर।’
आमाले आफ्नो तिलहरी धितो राखी बैंकबाट केही ऋण निकालेर दिनुभयो। घर-परिवारको सल्लाहअनुसार मैले काठमाडौँ गएर लोक सेवा आयोगको तयारी गर्ने निर्णय गरेँ। तर मेरो रोजाइ लोक सेवा आयोग थिएन, मेरो चाहना डाक्टर बन्ने थियो। आर्थिक स्थिति घरको अलिक कमजोर भएको कारण मैले आफ्नो चाहनालाई दबाएर राखेँ।
काठमाडौँ गएर तयारी गरेको एक वर्षसम्म पनि मेरो लोक सेवा आयोगमा नाम निस्केको थिएन। खोइ भाग्यले साथ नदिएको हो कि मेहनत नपुगेको हो, बुझ्न सकिरहेकी थिइनँ।
काठमाडौँ आउँदा ५५ केजी थिएँ तर लोक सेवाको तयारी गर्न थालेपछि घटेर ४४ केजी पुगे। बाटोमा हिँड्दा बेस्सरी हावा चल्दा हावाले उडाउँछ जस्तो लाग्थ्यो। साथीहरूले पनि भन्थे, ‘अब गोजीमा ढुङ्गा हालेर हिँड।’
कोठा पनि किताब नै किताबले भरिएको थियो। पटक-पटक असफल हुँदा आशाका किरणहरू पनि मर्दै गएका थिए। कहिलेकाहीँ त जति कोसिस गरे पनि नहुने रहेछ जस्तो लाग्थ्यो।
खप्परमा भैँसी गोठालो लेखेपछि सरकारी जागिर नहुने रहेछ जस्तो लाग्थ्यो। फेरि आमाले छोरीले केही गर्छे भनेर बैंकमा राखेको तिलहरी सम्झिन्थेँ अनि आमा-बुवाको आँखामा मप्रति भएको आशा सम्झन्थेँ। त्यही आशाले मलाई हार मान्न दिएन। तयारी थालेको ३ वर्षपछि मैले खरिदारमा नाम निकालेँ।
नाम निकालेको दिन घर जाँदा आमा र बुवाको अनुहारको खुसीले मलाई म सफल भएको अनुभूति भयो।
गाउँ घर जाँदै गर्दा सिन्धुलीमा खाजा खान भनेर एउटा होटेलमा बस रोकेको थियो। म पनि खाजा खान भनेर त्यो होटेलभित्र पसेँ। म नजिकको एउटा टेबलमा एक जना केटा र केटी बसिरहेका थिए। म बसेको टेबल नजिकै उनीहरू बसेको कारण उनीहरूले गरेको कुराकानी सुनिन्थ्यो। उनीहरू सरकारी जागिरको बारेमा कुरा गरिरहेका थिए।
केटीले भन्दै थिई, ‘भएको सरकारी जागिर पनि छोडेर विदेश जान्छु भन्ने केटाको पछि लाग्नुभन्दा ८ कक्षा पास गरेको नै किन नहोस्, गाउँमा हलो जोत्ने हलीदार खोजेर बिहे गर्छु। विदेशमा चाहिँ पैसाको बोट छ त्यसै आउँछ! तिमी खरिदारको जागिर छोडेर जापान जान्छु भन्छौ। जापान जाँदा पनि त्यहाँको कमाइले नपुगेर अमेरिका जान मन होला। मान्छेको असन्तुष्टि जात, त्यहाँ पनि पुग्दैन। म त भन्छु बरु चन्द्रमा तिर जाऊ।’
Advertisement
उसको कुरा सुनेर हाँस पनि उठिरहेको थियो तर आफ्नो हाँसो रोकेँ। उता सहचालक दाइले गाडी हिँड्यो है, सबै जना आउनुहोला भनेर बोलाउनु भयो। म उठेर हिँडेँ।
सुरुमा नियुक्ति पत्र लिएर आफ्नो कार्यभार सम्हाल्दा लाग्थ्यो अब मेरा दुःखका दिनहरू गए। अब सबै ठिक हुन्छ। तर म भ्रममा रहेछु। बल्ल पो मेरो संघर्षका दिनहरू सुरु भएका रहेछन्। कमाउन थालेपछि जिम्मेवारी पनि थपिँदै जाँदो रहेछ। फेरि सरकारी जागिरको तलब ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भनेजस्तै रहेछ। महिना बितेको एक हप्तापछि तलब त कहाँ पुग्थ्यो, आफैँलाई थाहा नै हुँदैन थियो।
सरकारी जागिरले बाँच्न सिकाउँछ तर उँभो लाग्न दिँदैन रहेछ। जागिर खाएको तीन वर्षमा बल्लतल्ल काठमाडौँमा बसेर तयारी गरेको ऋण तिर्न सकेँ तर सकिनँ ती आमाबुवाका दुःख संघर्षका दिन अन्त्य गर्न।
शुक्रबारको दिन अफिसबाट कोठा जाँदै गर्दा बाटोमा एक जना गाउँको दाइसित भेट भयो। दाइले भेट्ने बित्तिकै ‘के छ बुने हाल खबर?’ भन्नु भयो। मैले आफ्नो ठिक भएको बताउँदै दाइको खबर सोधेँ।
दाइले अँध्यारो अनुहार लाउँदै भन्नु भयो, ‘बुने, सरकारी जागिरको तलबले जीवन चलाउन एकदमै गाह्रो भएको छ। म त कुन दिन जागिरबाट राजीनामा दिएर हिँड्छु होला विदेश तिर। तलब आएको एक हप्तापछि तलब पनि कहाँ पुग्छ पुग्छ थाहा छैन। घरीघरी त आफ्नो पर्स चुहिने छ कि के हो भनेर दिनमा तीन चोटि हेर्छु।’
मैले पठाओमा बाइक बुक गरेको थिएँ कोठा जान। दाइसँग कुरा गर्दा गर्दै बाइक आयो अनि उहाँसँग बिदा लिएर कोठा तिर लागेँ।
कोठा गएर एकछिन कुर्सीमा बसेर सोचेँ। दिउँसो दाइले भन्नु भएको कुरा याद आयो अनि सोचेँ, दाइलाई सुब्बाको जागिरले त पुगेन भने खरिदारको जागिरले मलाई झन् के पुग्थ्यो! धेरै बेर सोचेँ मैले अनि अन्तिममा सरकारी जागिर छोडेर जापान जाने निधो गरेँ।
स्टुडेन्ट भिसामा जापान जाने प्रक्रिया थालेँ। प्रक्रिया थालेको ८ महिनापछि भिसा आयो। केही दिनपछि जापान उडेँ।
जापानमा मैले चिनेको एक जना साथी बस्थिन्। उनी मलाई लिन एयरपोर्ट आएकी थिइन्। उसले मेरो लागि कोठा पनि खोज्दिएकी रहिछन्।जापान गएको एक हप्तासम्म पनि काम खोज्दा मैले पाएको थिइनँ। साथीलाई फोन गरेर काम खोज्दिन लगाएँ। उसले एउटा होटेलमा वेटर अनि भाडा मोल्ने काम खोज्दिइन्। होटेलमा काम गर्ने चाहना त थिएन तर अरू ठाउँमा काम नपाएपछि मैले त्यही काम गर्न थालेँ।
बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म कलेज थियो। अनि काम ६ बजेदेखि राति १२ बजेसम्म। निलो कोट र पेन्टमा सेतो सर्ट लगाएर कुर्सीमा बसेर काम गर्दा सरकारी जागिरमा पाएको मान सम्मान आज विदेशमा अरूले खाएको जुठो भाडा मोल्दा, अलिकति गल्ती गर्दा साहुको नमिठो गाली खाँदा साबुनको फिँजझैँ मेरो इज्जत मान सम्मान विलीन भएझैँ लाग्यो।
सरकारसँग भ्यु-टावर बनाउन अनावश्यक परियोजनामा लगानी गर्न पैसा हुने तर सार्वजनिक सेवामा खटिएका कर्मचारीको तलब बढाउन चाहिँ दाँतबाट पसिना नै आउने। गाउँमा बसेर कृषि पेसामा केही गर्छु भन्दा नि सबैले आलोचना गरे। मलाई देश छोड्न राज्य र समाजले बाध्य बनाएको थियो।
विदेश र स्वदेशमा यति फरक छ कि विदेशमा जे गरे नि चिनेको कसैले देख्दैन। ट्वाइलेट नै किन सफा गर्नु परोस्, गिल्ला खिसी आलोचना गर्ने मान्छे हुँदैन। स्वदेशमा अलि पढे लेखेकाले सानोतिनो काम गर्न थालियो भने आलोचना गरिन्छ।
तर विदेश आएको एक महिनापछि आफ्नो देश अनि सरकारी जागिरको महत्त्व थाहा पाएँ। खरिदारको जागिरले पुगेको थिएन र मैले विदेश रोजेको थिएँ तर मैले खरिदारभन्दा माथिको पदको लागि कोसिस गरेको भए म आफ्नो परिवार नजिक हुन्थेँ। यो बिरानो देशमा टुहुरो झैँ बस्नुपर्दैन थियो। विदेशमा पैसाको बोट छ, जाने बित्तिकै कमाइन्छ भन्ने सोच आज चकनाचुर भएको छ।
जे छ त्यहीमा रमाउन सकिएन भने न सरकारी जागिरको कमाइले पुग्छ न त विदेश भन्ने कुरा जापानमा बसाइँमा बुझिसकेको थिएँ।
हेर्दा हेर्दै जापान आएको पनि ४ वर्ष भइसकेको थियो। जापान बसाइँको ४ वर्षपछि थाहा छैन सही गरेँ वा गलत मैले, जापान छोडेर नेपालमै बसी शाखा अधिकृत तयारी गर्ने र त्यसमा पनि सफलता हात पार्न सकिनँ भने केही व्यापार गर्ने उद्देश्यले म आफ्नो देश नेपाल फर्किएँ।
यो पनि मनपर्न सक्छ
- पाणिनि तपोभूमिको मौलिक लोक भजनको महत्व र इतिहास कोट्याउने प्रयास
- लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को
अर्चना घिमिरे