‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ’

काठमाडौँ : आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी १५० औँ विश्व हुलाक दिवस मनाइँदै छ । यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । विश्वभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घ स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको थियो । आजभन्दा एक सय पचास वर्ष अगाडि सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घ स्थापना भएको सम्झनामा सन् १९६९ देखि विश्व हुलाक दिवस मनाउन शुरु गर्ने औपचारिक घोषणा गरिएको थियो । यो दिवस अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयु) को आयोजनामा सम्पूर्ण विश्वमा हुलाकको महत्त्व र योगदानलाई स्मरण गर्न, जनचेतना फैलाउन तथा हुलाक सेवाको सामाजिक, आर्थिक र विकासात्मक भूमिको स्वीकार्यताको आयतनलाई फराकिलो पार्नका लागि मनाइन्छ । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको थियो ।

यसरी हुलाक प्रणालीको विकासले विश्वभरिका मानिसहरूलाई एक आपसमा जोड्ने काम गरिन्छ भने हुलाकको इतिहास मानव सभ्यताको विकासको एक अभिन्न अङ्गको रुपमा विकसित भएको मानिन्छ । यसले विश्वभरिका मुलुकको हुलाक प्रणालीलाई एकीकृत गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो दिवसले हुलाक सेवाका उपलब्धि, समस्या, चुनौती र प्रविधिको विकाससँगै यसको भविष्यका सम्भावनाको खोजी गर्ने गरिन्छ । यो दिवसका अवसरमा नेपालमा हुलाक सेवाको इतिहास, यसको विकास, महत्त्व, वर्तमान अवस्था र यो सेवाले नेपालको सामाजिक, आर्थिक र विकासमा पुर्‍याएको योगदानका बारेमा चर्चापरिचर्चा गर्ने गरिन्छ ।

हुलाक सेवा विश्वभरका विभिन्न भागमा जानकारी, समाचार र सन्देश आदानप्रदानको सबैभन्दा प्रारम्भिक र महत्त्वपूर्ण माध्यम हो । यो सेवाले मानव समुदायलाई एक आपसमा जोड्ने कार्य मात्र गरेको छैन, व्यापारिक क्रियाकलापलाई पनि सहज बनाएको छ । यसले विश्वभरका कागजपत्र, सूचना, जानकारी, पार्सल र व्यक्तिगत सन्देश आदानप्रदानको माध्यम बनेर हुलाक सेवाले विश्वव्यापी आर्थिक तथा सामाजिक सञ्जाल निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेको छ । यो सेवाले विशेषगरि ग्रामीण र दुर्गम क्षेत्रमा सूचना प्रवाहलाई सुनिश्चित गरेको छ । पछिल्लो समय हुलाक प्रणालीले बैकिङ्ग सेवा, सामाजिक सुरक्षा कोषको वितरण र अन्य सरकारी सेवाहरूलाई नागरिक तहसम्म पुर्‍याउने कामलाई सहज बनाएको छ ।

मुलुकको अन्तर्राष्ट्रिय हुलाक सेवामा निरन्तर सुधार भइरहेको छ । सन् २०२४ मा मुलुकले अन्तर्राष्ट्रिय कुरियर सेवासँग प्रतिस्पर्धा गर्न विभिन्न पाइला चालेको देखिन्छ  । हुलाक सेवा विभागले अन्तर्राष्ट्रियस्तरमा काम गर्ने कम्पनीहरूसँग साझेदारी गरी विदेशी मुलुकमा पनि हुलाक सामग्रीलाई छिटो र सुरक्षितरूपमा पुर्‍याउने लक्ष्य लिएको छ । फलस्वरुप यो सेवाबाट मुुलुकको अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेलेको छ । हुलाक सेवालाई अझ बढी सबल, सशक्त, प्रभावकारी र समयानुकूल बनाउनका लागि संरचनागतदेखि ऐनमा सुधार ल्याउनुपर्ने अहिलेको आवश्यकता देखिएको छ । यो सेवालाई थप सूचना प्रविधिमैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण वृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

नेपालमा पनि हुलाक सेवाको इतिहास धेरै पुरानो छ । राजा प्रताप मल्लको पालादेखि नै पत्र तथा सन्देश पठाउने र प्राप्त गर्ने प्रणालीको विकास भएको इतिहास छ । तर नेपालमा आधुनिक हुलाक सेवाको विकास विसं १९३५ सालमा शुरु भएको मानिन्छ । पछि राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा नेपाल र भारतबीच हुलाक सेवा स्थापनाका लागि सम्झौता भएको थियो । यो सम्झौतालाई नै नेपालमा हुलाक सेवाको आधिकारिक सुरुआत भएको मानिन्छ । पहिलो चरणमा हुलाक कार्यालयहरू काठमाडौँमा मात्र थिए । तर विस्तारै यो कार्यालयलाई क्रमशः मुलुकभरि विस्तार गरिएको थियो । सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि नेपालले यो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सफल भएको हो । यो सेवाले नेपालको ग्रामीण क्षेत्रमा शिक्षा, सञ्चार र व्यापार प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिलेकोे २१औँ शताब्दीमा सूचना प्रविधिको विकाससँगै हुलाक सेवामा पनि परिवर्तनको खाँचो देखिएको छ । हुनतः यो सेवा आधुनिक प्रविधिसँग अनुकूलित हुँदै आएको छ । नेपालमा विसं १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौतीको सामना गर्दै पछिल्लो समयमा ई–पोस्टल सेवा, कुरियर सेवा र हुलाक बचत योजनाजस्ता नयाँ सेवाको सुरुआत गरेको छ । हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्रको रुपमा विकसित गरी सुदृढ गर्दै लैजानुुपर्नेमा वर्तमान सरकार प्रतिबद्ध रहेको छ । हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नुपर्ने समयको माग मात्रै होइन, अहिलेको आवश्यकता पनि हो । यसतर्फ सरकार गम्भीर भएर लाग्न सक्नुपर्दछ । निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायत मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपालको हुलाक सेवाले छिटो छरितो, चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो गौरव कायम राख्नका लागि नीतिगत सुधार र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।

हुलाक सेवाले आफूलाई संरचनागत रुपमा रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको पुनसंरचना कार्यलाई अभियानका रुपमा अगाडि बढाउँदै लैजानुपर्ने देखिन्छ । नेपालको हुलाक सेवा अझै पनि ग्रामीण क्षेत्रमा प्रमुख सञ्चारमाध्यमको रूपमा काम गरिरहेको छ । मुलुकभरका तीन हजार नौ सय ७० हुलाक कार्यालयबाटनेपाली नागरिकलाई सूचना प्रवाहका साथै विभिन्न प्रकारका हुलाक सेवाहरू प्रदान गर्दै आएका छन् ।विश्व हुलाक दिवसका अवसरमासञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज दिनुभएको शुभकामना सन्देशमा नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई थप सूचना प्रविधिमैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण बृद्धि गरिनुपर्ने बताउँदै हुलाक सेवाले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै जानुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापना भएको दिन अक्टोबार ९ तारिखमा हरेक वर्षविश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ । नेपालले हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

यो पनि मनपर्न सक्छ

शीतलप्रसाद महतो

(लेखक महतो राष्ट्रिय समाचार समितिको प्रशासन प्रमुख हुनुहुन्छ )

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*