मोमिलाको निबन्धमाथि चर्चा

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

मोमिलाको निबन्धमाथि चर्चा
‘जीवन सोच्न लायक हो कि भोग्न ?’
निबन्धकार रोशन शेरचनले निबन्धकार मोमिला जोशीलाई सोधेको प्रश्नमा धेरै दर्शकहरु सुन्न उत्सुक थिए । मोमिलाले हाँस्दै भन्नुभयो, “जीवन भोग्ने कुरा हो । बरु भोगेपछि मात्रै सोच्न बाध्य भइन्छ ।” उहाँको जवाफलाई सबै दर्शकले तालीले समर्थन जनाए ।
आज मार्टिन चौतारीमा निबन्धकार एवं कवि जोशीको निबन्ध संग्रह ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ माथि चर्चाका क्रममा उक्त प्रश्न सोधिएको थियो । त्यस अवसरमा पाठक, लेखक र समालोचकबीच गहन छलफल पनि भयो ।
बुकाहलिक्सको ९३औँ चकटी बहसमा जोशीको कृत्तिमा निबन्धकारद्वय कुमारी लामा र रोशन शेरचनले टिप्पणी गरेका थिए । समालोचक लामाले मोमिलाको निबन्धमा काव्यात्मक चेत प्रशस्त पाइने उल्लेख गर्नुभयो । कैयौँ जटिल बिम्बको प्रयोग र दर्शनभाव झल्कने भएकाले मोमिलाका सिर्जना बुझन् पाठकले पनि थप मेहनत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “मोमिलाका निबन्ध जीवनदेखि मृत्युसम्मको सङ्घर्षको दस्तावेज हो”, उहाँले भन्नुभयो, “उहाँको लेखनशैली अरुको भन्दा फरक छ ।”
निबन्धकार शेरचनले जोशीको निबन्ध लेखन शून्यवाद र विसङ्गतिवादमा लेखिएको टिप्पणी गरे पनि लेखक जोशीले भने आफ्नो कुनै पनि साहित्यिक लेखन स्वतन्त्र र उडान भर्ने खालको रहेको उल्लेख गर्नुभयो ।
छलफलका क्रममा पाठकले जोशीका लेखन जटिल हुनुको कारण सोध्नुभएको थियो । जोशीले साहित्य भनेकै गहन  हुनुपर्ने तर्क गर्दै भन्नुभयो, “जब म लेख्न थाल्छु, पाठक बिर्सन्छु । स्वतन्त्र र उडान भरेर आफ्नै मनको भाव लेख्छु । मेरो बिचारमा यो नै लेखकको धर्म हो ।”
जोशी ४८ वर्षदेखि कविता लेखनमा निरन्तर सक्रिय हुनुहुन्छ । उहाँको पहिलो निबन्ध सङ्ग्रह ‘ईश्वरको अदालतमा आउसाइडरको बयान’ प्रकाशित छ ।

यो पनि मनपर्न सक्छ

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*

थप सम्बन्धित