ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन : अझै भएन सहमति सार्वजनिक

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन : अझै भएन सहमति सार्वजनिक
काठमाडौँ, ३१ असार : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएकाहुन ।
प्रधानमन्त्री ओलीको शपथ पछि उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथग्रहण गरेका छन्।
ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।
जसमा नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी रहेकाछन ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल,
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही रहेकाछन ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
अझै भएन सहमति सार्वजनिक
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भइसके तर दुवै दलले अनुमोदन समेत गरेका उक्त सहमति भने हालसम्म सार्वजनिक गरिएको छैन ।
आ–आफ्नो दलमा गरेको ब्रिफिङ अनुसार “आलोपालो“ सरकारको नेतृत्व गर्ने समझदारी भएको बाहेक अन्य कुरा स्पष्ट नभएको जानकारले बताएका थिए ।
सुशासन र राजनीतिक स्थिरताका लागि संविधानमा आवश्यक संशोधन जस्ता विषय मुख्य आधार समझदारी गरिएको भएतापनि चुनावमा प्रतिस्पर्धा गर्दै आएका र भोलि पनि मुख्य प्रतिस्पर्धी रहने दुई दलको सत्ता सहकार्य सहज नभएको र दुवै दलका नेताहरूले अहिलेकै ढङ्गले राजनीति गर्दा आगामी चुनावसम्ममा नयाँ दलले स्थान लिन सक्ने र कमजोर बन्न सक्ने डरले पनि यो समझदारी बनेको कतिपयको विश्लेषण छ  ।
सङ्घीयतामाथि प्रश्न उठ्न नदिन, संविधानलाई बचाउन र संविधान संशोधनका लागि दुवै दलको मत हुनु मिलनबिन्दु देखाएर प्रचार गरेतापनि आफ्ना निहित “स्वार्थ पूर्ति“का निम्ति सत्तारोहण गर्न लागेको मान्नेहरू पनि धेरै छन् ।

यो पनि मनपर्न सक्छ

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*