भतिज : इन्द्र !!! तिम्रो सम्झनामा !!!!!!
प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार
भतिज : इन्द्र !!! तिम्रो सम्झनामा !!!!!!
भतिज, इन्द्र !!!
तिम्रो यादमा धेरैबेर एक्लै टोलाई रहेँ
एकोहोरो पर क्षित्तिजमा नियालि रहेँ
कतै तिम्रो प्रतिबिम्ब पो देख्छु कि भनी !!
बादललाई सोधें कतै उसले पो भेट्यो कि भनी !!
सागरलाई सोधें कतै उसले पो निल्यो कि भनी !!
हावाका सुस्केराहरूसंग कानेखुसी गरेँ
कतै उसले पो तिमीलाई भुमरीमा बेर्यौ कि भनी !!
कोठाका प्रत्येक कुना काप्चामा खोजेँ
कतै तिमीले हामीसंग लुकामारी पो खेल्यौ कि भनी !!!
भतिज, इन्द्र !!!
खै! कसैले तिमीलाई भेट्यौँ भनेनन्
कसैले तिमीलाई देख्यौँ भनेनन्!
तिम्रो तस्बिर लिएर एक तमासले घोरिई रहेँ
तिम्रा निश्चल आँखाहहरूले मलाई हेरिरह्यो
तिम्रा ओंठहरूले केही भन्न खोजे झैं लाग्यो
तिमीसँगको बिछोडमा रुझिरहेका मेरा परेलीहरू
तिम्रा कोमल औंलाहरूले पुछिदिए झैं लाग्यो!
भतिज, इन्द्र !!!
म चुपचाप तस्बिर नियालि रहेँ
तिमी संधै झै मुस्कुराउँदै मेरो अगाडि उभियौ
म दंग परेर संधै झै तिमीलाई अंगाल्न खोजेँ
एक्कासी तिमी खित्खिताएर हाँस्न थाल्यौ
तत्क्षण झलमल्ल ताराहरू तिम्रो वरिपरि छरिए
तिम्रो मायालु अनुहार गम्भीर देखियो
हेर्दा हेर्दै तिमी मसँग पर पर हुँदै
ती ताराहरूको पछि लाग्दै फेरि मबाट टाढा गयौ !!!
उफ्… लामो सुस्केरा हाल्दै म भूईंमा थचक्क बसेँ !!
मेरा आँखाहरूले तिमीलाई पछ्याई रहे
पछ्याउँदै गर्दा तिमी आकाशमा गएर टक्क रोकियौ
आँखा झिमिक्क नगरी म आकाशमा हेर्न थालेँ !!!
भतिज, इन्द्र !!!
तिमीलाई पहिल्याउन मलाई पटक्कै गाह्रो भएन
लाखौं ताराहरूको बिचमा तिमी चम्कन थाल्यौ!
एकपटक लामो स्वास फेरेँ….
फेरि एकपटक तिमी मलाई हेरेर मुसुक्क हाँस्यौ
अघाउन्जेल तिमीलाई हेरि रहेँ ….हेरि रहेँ…….!!!
यो पनि मनपर्न सक्छ
- सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
- राष्ट्रपतिद्वारा परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन
- अमर व्यक्तित्व : पण्डितराज नयराज पन्त
राजनप्रसाद पोखरेल