धार्मिक सहिद वाचनशिरोमणि एक वहुआयामिक व्यक्तित्व

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलवार

धार्मिक सहिद वाचनशिरोमणि एक वहुआयामिक व्यक्तित्व

वाचन शिरोमणि धार्मिक सहिद आदरणीय गुरु पं. नारायणप्रसाद पोखरेलज्यूले साहदत प्राप्त गर्नुभएको आजको दिन, वास्तवमा नेपाली आध्यात्मिक तथा सामाजिक सम्वृद्धिका द्योतकको पाञ्चभौतिक शरीरको अवसान गराइएको दिन, वि.सं. २०६२ वैशाख २३ गते, थाहै नपाइ १५ वर्ष व्यतित भएछ, । भौतिक देहको अवसान भए पनि विचार र समाज सम्वृद्धिका हिसाबले उहाँको चिन्तन जीवन्त नै रहिरहेको छ, जब कि उहाँको आध्यात्मिक चिन्तनबाट भौतिक सम्बृद्धिको प्रयासको तत्कालिन समयमा त्यो पहल कदमी समाज उन्नयनको नौलो र अद्भूत थियो । रुढीग्रस्त सोचबाट समतामूलक (जातीय विभेदरहित समाज) को निर्माण र हाम्रा पूर्वीय ग्रन्थलाई समसामयिकतामा ढालेर मन पगालेर समग्र भौतिक विकासमा लगाउनु चूनौतिपूर्ण मात्र होइन आफैमा असहज पनि थियो, तर उहाँले त्यो प्रमाणित गरिदिनुुभयो ।

अभियान

मैले भौतिक रुपमा पनि नजिकबाट नियाल्दा उहाँमा विचार, मान्यता र नयाँ आदर्शको एउटा पुञ्ज भेट्टाएको छु । उहाँले आज भन्दा करिब ४० वर्ष पहिले तीनवटा मान्यतालाई सँगसँगै अगाडि बढाउने कार्य गर्नुभयो, पहिलो सम्भ्रान्त व्यक्तिको पहुँचमा रहेको श्रीमद्भागवत जस्तो पवित्र ग्रन्थलाई जनजनमा सरस, सरल र मिठासपूर्ण ढंगले अगाडि बढाउनुभयो, दोश्रो सामाजिक विकासका लागि धार्मिक आध्यात्मिक अनुष्ठानको नवीनतम् प्रयोेग गरी आध्यात्मिक तथा भौतिक दुवै विचारलाई समायोजनको मध्यमार्गी धार स्थापित गर्नुभयो, तेश्रो सामाजिक विभेदीकरणको अन्त्यको प्रयास गर्नुभयो । विल्कुलै फरक धारमा हिँडिरहेको तात्कालिक समाजमा यी र यस्ता विषय सँगसँगै कार्यहरु अगाडि बढाउनु एकदमै चुनौतिपूर्ण थियो तथापि उहाँले समस्याहरुको डटेर सामना गर्नुभयो र, जसले गर्दा अभियानका लागि उहाँको अभूतपूर्व योगदान रह्यो ।
नेपाली लोकशैली र पनको विकास गरी धार्मिक आध्यात्मिक आस्थामा फरकधारको प्रारम्भ गरी ग्रन्थ वाचनमा कला, संगीत, हास्यरस, प्रेम, माधुर्यता, धाराप्रवाह प्रखरता एवं समाजपरक व्यावहारिकतालाई जोडेर विशुद्ध एक नूतन अभ्यासको सुरुवात उहाँबाट भएको हो । विशेषतः त्यसबेला धार्मिक आध्यात्मिक शैली र मान्यतामा दक्षिण भारत र त्यस क्षेत्रका गुरुहरुको उल्लेख्य प्रभाव बढ्दै गर्दा उहाँको उदयले स्वराष्ट, कला र स्वसंस्कृति प्रतिको भावनामा निकै जागरण पैदा भएको मान्न सकिन्छ । उहाँले अगाडि बढाउनुभएको अभियान वास्तवमा नेपाली परिवेशमा सांस्कृतिक रुपान्तरण सँगसँगै जागरणको एउटा नयाँ आयामको रुपमा विकास भएकोमा कुनै दुई मत छैन ।

विश्व हिन्दु महासंघमा आगमन

२०५७ साल वैशाखमा विश्व हिन्दु महासंघको पोखरा अधिवेशनबाट लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भइसके पछि उहाँले संस्थाको माध्यमबाट वास्तवमै एउटा क्रान्तिको शुभारम्भ गर्नुभयो, ‘आध्यात्मिक चिन्तन भौतिक विकास, सामाजिक यज्ञ एकै साथ’ एवं ‘छुवाछुत रुढिवाद, हिन्दु धर्ममा गम्भीर आघात’ भन्ने दुईवटा नारा लिएर यो अभियानलाई सार्थक रुपमा अघि बढाउन निकै क्रियाशिल भएर लागि पर्दा पूर्वीय दर्शन, जीवनशैली र चिन्तनमा एक नयाँ आशा, भरोसा एवं जागृतिको आभाष हुन थालेको थियो । नेपाललाई विश्व ‘ओमकार केन्द्र’को रुपमा विकास गरी समस्त जाती जनजाती समुदायलाई प्रेम, एकता, सद्भाव र शान्तिकामी जीवनयापन गर्ने मान्यतामा अघि बढाउने उहाँको ठूलो सदिच्छा थियो । जाती समुदायमा कुनै किसिमको विद्धैष पैदा नहोस र समग्रमा एकताको भावना निरन्तर पैदा गर्नका निमित्त उहाँले विश्व हिन्दु महासंघमा विभिन्न समुदायका व्यक्ति, व्यक्तित्वहरुको समागम गराउनुभएको थियो । जस्तो कि केन्द्रिय उपाध्यक्षमा लक्ष्यबहादुर गुरुड, गणेशमान सैंजू, आदिलाई स्थान दिनु, जनजाती समन्वय समिति निर्माण गरी पोखराका विश्वमोहन गौचनलाई अध्यक्ष बनाउनु, दलित समन्वय समिति, हिन्दु नारी जागरण समिति, हिन्दु युवा समिति आदि बनाउनुका साथै शिव अवतारी लामा, प्रितम सिह, हुलासचन्द्र गोल्छा आदिलाई केन्द्रिय समितिमा राखी बौद्ध, शिख एवं जैन सबैलाई एकताको सुत्रमा बाँधी आध्यात्मिक अभियानबाट मानव मिलनको भाव सिर्जना गर्नु अत्यन्तै अनुकरणीय कार्य हो । तत्कालिन अवस्थामा कुनै जातिय, सामाजिक, साम्प्रदायिक, लैंगिक एवं क्षेत्रिय विभेदीकरणको छनक नहुँदा पनि त्यस्ता समूह गठन गरी सामाजिक सद्भावलाई अक्षुण्ण राख्न अनवरत अघि बढ्नु उहाँको राष्टिय एकता र सांस्कृतिक एवं धार्मिक सहिष्णुता तथा सौहाद्र्धताका विषयमा एकदमै दूरदर्शिता थियो भन्ने पुष्टि हुन्छ ।

उहाँको मान्यता

उहाँमा लोकतान्त्रिक पद्धति र मान्यता प्रतिको निष्ठामा पनि कमी थिएन भन्ने कुरा विभिन्न घटना क्रमले पुष्टि हुन्छ, विश्व हिन्दु महासंघका अन्तर्राष्टिय समितिका अध्यक्ष तत्कालिन शाही पार्शवर्ती उपरथि भरतकेशर सिंहले विनाकारण अध्यक्षबाट बर्खास्तको घोषणा गर्दा त्यो कदमलाई चुनौति दिँदै उहाँले विश्व हिन्दु महासंघलाई जनजनको बीचमा लगी संगठन गर्दै पुनः अध्यक्षको रुपमा स्थापित भएर निगाहबाट संस्था चल्दैन, जनप्रिय कार्यले नै सबै कुरामा जीवन्त बन्न सकिन्छ भन्ने मान्यतालाई निर्भिक रुपमा स्थापित गरी लोकतान्त्रिक मान्यता र आदर्शप्रतिको भावलाई प्रगाढ बनाउनुभएको भन्ने विषय सबैमा जगजाहेरै छ । साथै विश्व हिन्दु महासंघ तथा अन्तरधार्मिक राष्टिय तथा अन्तर्राष्टिय विभिन्न सम्मेलनमा राष्टियताका विषयमा उहाँले निकै खुलेर आफ्नो विचार र धारणा प्रस्तुत गर्नुभएको अद्यावधि संकलित उहाँका वक्तव्यहरुले पुष्टि गरिसकेका छन् ।

उहाँको पदचाप

उहाँको भौतिक अवसान पछि उहाँको कला, संगीत, शैली, आदर्श, मूल्य एवं मान्यताहरुलाई विभिन्न उद्देश्य राखेर अनुशीलन, अनुकरण एवं अंगीकार गर्ने कार्य भएको छ, त्यो केही हदसम्म सरहानीय भए पनि त्यसलाई व्यापारिक प्रयोजन र व्यावासिकतामा प्रयोग गरी केवल जीवनवृतिको आधार मात्र बनाइनु अक्ष्यम्य कार्य हो । उहाँका विचार र सोच पूर्वीय दर्शनका साथै त्यसमाथि पनि नेपालको संस्कृति भिन्न छ यसलाई सदैव मानव हितार्थ प्रयोग गरी समाजको उन्नयन गर्नुपर्दछ भन्ने नै थियो । त्यस विषयलाई चटक्कै भुलेर पुराण, प्रवचन, धार्मिक अनुष्ठानलाई केबल अर्थोपार्जनको माध्यम मात्र बनाउँदा उहाँप्रतिको वास्तविक अपमान त हो नै सँगसँगै त्यसले आस्था प्रतिको विचलन तथा वितृष्णा पनि पैदा गरिरहने तितो यथार्थ रहेको छ । हामीले हाम्रो धरोहरलाई कायम गर्न समयानुकूल र युग सुहाउँदो मान्यतलाई स्थापित र बढावा दिँदै जानु पर्दछ, न कि केबल जीवनवृत्तिकाृ आधार मात्रै । जसरी तात्कालिक समाजमा उहाँले एउटा क्रान्ति गर्नुभयो त्यसैगरी अहिले हामीले पनि युगानुकूल हाम्रो आदर्श र विचारलाई उठान गर्नुपर्दछ ।

हत्याको विषय

एक त सामाजिक आध्यात्मिक कार्यकर्ता अर्को कुरा यथेष्ट ठोस प्रमाणको अभावले गर्दा हत्याको विषयमा कसै माथि पनि दोषारोपण गर्नु मैले उचित ठानेको छैन । १५ वर्ष बितिसक्दा पनि मैले बारम्बार भनिरहेको छु, पिताजीको पाञ्चभौतिक शरीरको अवसान गराउने जो कोही भए पनि उसलाई भौतिक कारबाही होस भन्ने म चाहन्न र माग पनि गर्दिन किनकि उसलाई कारबाही गरेर पिताजी फर्कने होइन, बरु उसलाई सद्बुद्धि लागोस, तर अवसान किन गराइयो त्यो अझै गर्भमा लुप्त अवस्थामा छ, अझै पनि जनमानस तथा भक्तजन उहाँको अवसानको कारण .थाहा पाउन चाहन्छन् तसर्थ राज्यले यस सम्बन्धमा अझै गम्भीर अनुसन्धान गरोस्, यथार्थ विषय यथाशीघ्र बाहिर आओस् यत्ति छ कामना । राज्यमा यस्ता मूर्धन्य व्यक्तित्वहरुको अवसानका कारण र निदानका उपायहरु हामीले खोजबिन गरेनौं भने गलत नजिर स्थापित भई राज्य अपारधिकरणतर्फ उन्मुख बन्ने छ भन्ने चिन्ता तथा यस्ता घट्ना रहस्यमय ढंगले निस्क्रिय बन्नु या बनाइनु प्रकारान्तरले दुःखद विषय हो ।

यो पनि

प्रतिष्ठान

उहाँको कीर्तित्व, व्यक्तित्व, आदर्श एवं मूल्य मान्यता अर्को पुस्तामा हस्तान्तरण गराउने सदिच्छा राखेर उहाँलाई आदर्श मानी हामीले ‘नारायण पोखरेल प्रतिष्ठान’ निर्माण गरी विभिन्न कार्यहरु अघि बढाइरहेका छौं । हाम्रो मूलभूत लक्ष्य नारायण गुरुको मूख्य आदर्श आध्यात्मिक चिन्तन र भौतिक सम्बृद्धिको समायोजनको नवीनतम प्रयोग गर्नु नै हो । यसका लागि पूर्वीय वैदिक चिन्तनमा आधारित एक युगानुकूल नयाँ विचारधाराको प्रारम्भ, वकालत र कार्यान्वयन नै हाम्रो ध्येय रहेको छ, त्यसलाई उजागर गर्न हामीले यही प्रतिष्ठानको माध्यमद्धारा नागार्जुन ७, रामकोट काठमाडौंमा बद्रिनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्र निर्माण कार्य अगाडि बढाइरहेका छौं । यसका अलावा पूर्वीय आदर्श र विचारलाई अझै प्रखर रुपमा अगाडि बढाउनुका साथै हामीले हाम्रो माटो सुहाउँदो सेवा, सत्संग र साधनालाई प्रयोगात्मक बनाउने लक्ष्य लिएर कार्य गरिरहेका छौं ।

राज्यसँग अपेक्षा

सामाजिक तथा राष्टिय रुपमा योगदान गरेका जो कोही व्यक्तित्वहरुको कालजयी स्मरण सँगसँगै मरणोपरान्त सम्मान अर्को पिँढीका लागि उपयोगी एवं अनुशीलन योग्य नजिर बन्नेछ, यो विश्वव्यापी मान्यता पनि हो । हामीले नारायण गुरुले गर्नुुभएको योगदानका लागि राज्यले समुचित सम्मान गरी उहाँको नाममा हुलाक टिकट प्रकाशन, सडकको नाममा नामांकरण, उहाँले गर्नुभएको योगदानको अर्को पुस्तालाई प्रेरणा बनोस भन्नका खातिर उहाँको कीर्तित्वको पाठ्यक्रममा समावेश विषय राज्यसँग अपेक्षा गरेका छौं । उहाँले आफ्नो जीवनकालमा आफ्नो वाचनकलालाई प्रयोग गरी सयौं शिक्षालय, अस्पताल, बाटोघाटो, पुलपुलेसा, मठमन्दिर आदि निर्माण गरी समाजलाई टेवा दिनुभएको सबै सामु छर्लड्ग छ तसर्थ सामाजिक व्यक्तित्वको सम्मान राज्यको दायित्व भित्र पर्दछ र उहाँको योगदानलाई राज्यले स्मरण गर्नु सबै सामाजिक योगदान गर्नेहरुका लागि एक प्रेरणादायी कार्य पनि हुनेछ भन्ने नै हो ।

अन्तमा

उहाँमा एक वहुआयामिक व्यक्तित्व विद्यमान थियो जसले गर्दा सामान्य परिवारमा जन्मेर उहाँले विशुद्ध सामाजिक एवं मानवीय कल्याणका लागि अनुकरणीय कार्य गर्नुभयो, जसको मोटामोटी माथि उल्लेख गरिएको छ । राज्य, सामाजिक राजनीतिक व्यक्तित्वहरु, उहाँका अनुयायी, भक्तजन सबैका लागि उहाँ एउटा चिरस्मरणीय प्रेरक व्यक्तित्व हुनुहुन्छ, जसले उहाँलाई नजिकबाट बुझे अद्यावधि उहाँको स्मरणमा उनीहरुको आँखा रसाएकै पाइन्छ भने जसले नजिकबाट चिनेनन् परोक्ष नियाल्ने मौका पाए उनीहरुका लागि पनि उहाँको सामाजिक तथा मानवीय कार्य अत्यन्तै आदर्शवादी लाग्दछन् ।

पुत्र, अनुयायी एवं पदचापलाई पछ्याउने व्यक्तिका हिसाबले उहाँलाई हार्दिक श्रद्धासुमन तथा उहाँप्रति गहिरो सम्मान । – वाचन प्रवीण पं. दीनबन्धु पोखरेल अस्तु ..

यो पनि मनपर्न सक्छ

पं. दीनबन्धु पोखरेल

लेखकबाट थप

प्रतिक्रिया

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।*